भारतमा कोभिड–१९ बाट एकै दिनमा तीन हजार ८७४ जनाको मृत्यु


नयाँ दिल्ली।

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार त्यहाँ २ लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । गत सोमबार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो ।

अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा सङ्क्रमण देखिने गरेको थियो । यद्यपी सोमबारको भन्दा मंगलबार र बुधबार सङ्क्रमितको संख्या बढेको पाइएको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८७ हजार १२२ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ७० लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन ।

भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।