बल्ल जुट्दै पर्वतका स्थानीय तह


नेपाल समाचारपत्र, पर्वत

कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रमणको पहिलो लहरमा सक्रिय भएका पर्वतका स्थानीय तह दोस्रो लहरमा भने बल्ल नियन्त्रण प्रयासमा जुट्न थालेका छन् । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि मात्रै पर्वतका स्थानीय तहले संक्रमण नियन्त्रणका लागि प्रयास थालेका हुन् ।

अहिले स्थानीय तहले अस्थायी अस्पताल निर्माण गर्ने, गाउँ–गाउँमा पुगेर संक्रमितको पहिचान गर्ने तथा स्वास्थ्यकर्मीसहित घर–घरमै पुगेर बिरामीलाई भेट्ने र उपचारमा सहयोग गर्न थालेका छन् । पहिलो चरणमा सदरमुकाम कुस्मा बजारमा पुलिङ क्वारेनटाइन र पब्लिक आइसोलेसन निर्माण गरेर हरेक पालिकाका संक्रमितलाई एकत्रितरूपमा राखेर उनीहरुको उपचार गरेका थिए । तर, दोस्रो लहरमा त्यस्तो देखिएन ।हाल कुस्मा नगरपालिकाले पर्वत अस्पतालसँगको सहकार्यमा संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड निर्माण गरेको छ । नगरपालिकाले कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउन सवारीसाधनको निःशुल्क व्यवस्था पनि गरेको छ । १४ वटै वडामा बिरामी ओसारपसारका लागि सवारीसाधनको व्यवस्था पनि गरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

समुदायमा नै संक्रमण फैलिएको जलजला गाउँपालिकाले २० शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार वडा नम्बर ८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ६ शय्यामा अक्सिजन जडान गरिएको छ । सबैभन्दा दुर्गममा रहेको बिहादी गाउँपालिकामा पनि संक्रमितलाई उपचारका लागि ६ शय्याको अस्पताल सञ्चालनमा आएको छ । यसमा चिकित्सकसहितको व्यवस्था गरिएको अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो ।यस्तै, महाशिला गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पताल निर्माण गरेर संक्रमितको उपचार गरिरहेको छ । व्यवस्थितरूपमा निर्माण गरेको अस्पतालमा आठवटा अक्सिजन सिलिन्डर जडान गरेर कोरोना नियन्त्रणको प्रयास गरिरहेको छ । मोदी गाउँपालिकाले डाक्टरसहितको अस्थायी अस्पताल चलाएको प्रवक्ता विमल लामिछानेले बताउनुभयो । गाउँपालिकाले महिला, वृद्ध र सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको सेवासमेत दिइरहेको छ ।

फलेबास नगरपालिकाले १० शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ भने घर–घरमै पुगेर परामर्श दिने काम थालेको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि शुरुआती चरणमा आइसोलेसनको वार्डको निर्माण गरेर संक्रमितको उपचारका लागि काम गरिरहेका छन् । ठूलो रकम पहिलो चरणमा नै खर्च भएका कारण दोस्रो चरणमा राहत वितरणको काम शुरु नभएको तर कोही पनि भोको रहने अवस्था आएमा रकमान्तर गरेर भए पनि भोक मेटाउन र संक्रमितको ज्यान बचाउन लागि पर्ने स्थानीय तहका अधिकारीहरु बताउँछन् ।दोस्रो चरणको संक्रमणमा पर्वतमा हालसम्म ५ सय ७४ जना संक्रमित छन् । त्यसमध्ये ८३ जनाले कोरोना जितेका छन् भने ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । पर्वतमा कोरोनाबाट २५ जनाको मृत्यु भइसकेको छ ।