रिपोर्ट पर्खदाँ पर्खदै निधन, अन्त्येष्टि पछि पोजिटिभ

28
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

रोशी गाउँपालिका ३ शिखरआम्बोटे मजुवाका ६८ बर्षिय पुरुषलाई केहि दिन ज्वरो सहित कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखा पर्‍यो। केहि दिनको पखाई पछि गाउँपालिकाले शुरु गरेको निशुल्क स्वाव संकलन कार्यमा सहभागि भई २०७८ जेठ २ गते उहाँले कोरोना परिक्षणका लागि स्वाव दिनु भयो । ज्वरो कम भएन । अस्पताल लैजान नपाउँदै घरमै उहाँको निधन भयो ।

गाउँपालिकाले पठाएको स्वावको रिपोर्ट जेठ ५ गते साँझसम्म पनि प्राप्त हुन सकेन । ‘बैशाख ३१ गतेको रिपोर्ट जेठ ५ गतेसम्म प्राप्त हुन सकेको छैन’–गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहालले भन्नुभयो–‘रिपोर्ट कुर्दा कुर्दै विरामीको निधन हुन थालिसक्यो ।’

प्रादेशिक ल्यावमा रिपोर्ट आउन ७ दिनसम्म लाग्ने गरेको पालिकाका स्वास्थ्य शाखाहरुले जानकारी दिएका छन् । स्वाव दिएका ब्यक्तिहरुको समयमै रिपोर्ट प्राप्त नहुँदा समुदायमा खुलमखुल्ला हिड्ने गरेकाले संक्रमण तिब्र रुपमा फैलन थालेको छ । रिपोर्ट आउँछ र अन्त्येष्टी गरौला भन्दा भन्दै कुरेको तीन दिन पछि रिपोर्ट प्राप्त भएको पीडितका आफन्तले भने । ‘आश नै मरे पछि कोरोना संक्रमण पोजेटिभ, नेगेटिभ जे भए पनि लगेर अन्त्येष्टी ग¥यौं’–पीडितका छोराले भन्नुभयो–‘बुबाको अन्त्येष्टी सकेर फर्किए पछि पोजेटिभ भएको रिपोर्ट आयो ।’ मजुवामा ३१ जनाको स्वाव संकलन गरी परिक्षण गरिएकोमा १६ जनामा सक्रमण देखिएको छ । झण्डै एक सय भन्दा धेरै ब्यक्तिहरु विरामी परेको स्थानीयहरुले बताएका छन् ।

रोशी गाउँपालिकाकै वडा नम्वर १२ का एक ब्यक्तिको जेठ ५ गते राति अस्पताल ल्याउँदा ल्याउँदै मंगलटारमा एम्बुलेस भित्रै निधन भयो । केहि दिन कोरोनासँग मिल्ने लक्षणका कारण विरामी भई कम भएको अवस्थामा उहाँले स्वाव परिक्षण गराउन मान्नु भएको थिएन । तर उहाँकै घरका ४ जनाको स्वाव परिक्षण गरिएको तीन दिन भयो रिपोर्ट आएको छैन । पनौती, बेथान्चोक, रोशी, चौरीदेउराली, खानीखोला लगायतका क्षेत्रबाट संकलन भएर आएको स्वावको रिपोर्ट ५ दिनसम्म नआएको स्वास्थ्य शाखाका प्रमुखहरुले जानकारी दिएका छन् । बनेपा, पाँचखाल, मण्डन, नमोबुद्ध नगरपालिकाबाट संकलन भएको स्वावहरुको रिपोर्ट पनि समयमै प्राप्त हुने गरेको छैन । प्रादेशिक ल्यावमा जम्मा भएका स्वावहरुको चाङको पालो कहिले आउँछ ? ठेगान छैन । रिपोर्ट कुर्दा कुर्दै ब्यक्तिको निधन हुने, अन्य ब्यक्तिहरुसँग घुलमिल गरी संक्रमण फैलने क्रम तिब्र भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा कोरोना परिक्षणका लागि दुईवाट ल्याव संचालनमा छन् । धुलिखेल अस्पताल र प्रादेशिक ल्यावमा परिक्षण भए पनि प्रादेशिक ल्यावमा निशुल्क र धुलिखेल अस्पतालमा शुल्क लाग्ने गरेको छ । प्रादेशिक ल्यावमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, धादिङ्ग लगायतका जिल्लाबाट दैनिक एक हजार भन्दा बढी स्वाव आएका कारण परिक्षणमा ढिलाई भएको प्रादेशिक ल्याव धुलिखेलका प्रमुख नारायण कार्कीले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ल्याव भएका जिल्लाको स्वाव नलिने र भएका जिल्लाहरुको स्वाव छिटो परिक्षण गरी समयमै रिपोर्ट दिने गरी निर्देशन दिएको बताउनु भयो । धुलिखेल अस्पताललाई सरकारले ल्याव तथा अन्य उपकरणका लागि हरेक वर्ष रकम उपलब्ध गराउँदै आएको छ । जिल्लामा हुने स्वाब परिक्षणलाई धुलिखेल अस्पतालको ल्यावमा निशुल्क गराई छिटो रिपोर्ट प्राप्त हुने गरी नागरिकलाई संक्रमण फैलनबाट रोक्न पहल गर्न संकट ब्यवस्थापन केन्द्रलाई पालिकाहरुले अनुरोध गरेका छन् ।