वीरगन्जकी उपमेयर: जसले ९१ बर्षको उमेरमा सहजै जितिन् कोरोना


कृष्णउदास खनाल , वीरगन्ज ।

बैशाख २३ गते साँझ वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी एकदमै आत्तिनु भएको थियो । वीरगन्जमा कोरोनाको त्रास एकदमै बढेको बेला महानगरपालिकाका मेयर आत्तिनु स्वभाविक पनि हो तर नगरवासीलाई त जसरी पनि कोरोनाबाट बचाउँछु भन्ने हिम्मत बटुल्न सफल हुनु भएका मेयर सरावगीलाई आफ्नै उपमेयरको चिन्ता थियो । नेपाली काँग्रेसबाट राजनीति गरिरहनु भएकी वीरगन्जकी शान्ति कार्कीलाई अहिलेपनि उहाँलाई प्रायःले शान्ति दिदी नै भन्छन् अनि मेयर सरावगीले पनि संबोधन त्यही गर्ने गर्नुहुन्छ । मेयर र उपमेयरको राजनीतिक पार्टी फरक भएपछि शान्ति कार्कीप्रति सम्मान देखिन्छ मेयरको ।

उमेर नौं दशक, शरिर कुप्रो,खाना एकदमै थोरै ढल्किदो उमेर ,उपमेयर शान्ति कार्कीलाई कोरोना भयो भनेपछि आत्तिनु भएको हो मेयर सरावगी । आत्तिएर मात्रै समस्या समाधान नहुने भएपछि सबै नागरिकहरुका लागि समेत लक्षित गरेर वीरगन्ज महानगरपालिकाको वडा नम्बर ९ गोपालमंडलीमा आइसोलेशन महानगरपालिकाले बनायो र कोरोनाबाट संक्रमित हुनु भएकी उपमेयर कार्की बैशाख २४ गते एक्लै भर्ना हुनुभयो । उहाँमा कोरोना संक्रमण देखिएपछि शरिरमा त्यस्तो अप्ठेरो समस्या केही थिएन । कोरोनालाई जित्न सक्छु भन्ने आत्मबल कार्कीमा स्पष्ट थियो । उहाँका शुभचिन्ताहरुले चिन्ता जायर गर्नु स्वभाविक पनि थियो तर उहाँले करिब दुई सातामा त्यही आइसोलेशनमा बसेर कोरोनालाई जितेर बिहीबार निस्कनु भएको छ ।

बधाइ दिन बिहीबार बिहानै मेयर सरावगी नै पुग्नुभयो । शान्ति कार्कीको आत्मबलले सबैलाई ऊर्जा प्रदान गरेको मेयर सरावगीले बताउनुभयो । उहाँले कोरोना केही होइन नभकीकन आत्मबल लगाइयो भने सहजै पराजित गर्न सकिने बताउनुभयो । अघिल्लो पटकको कोरोना संक्रमणमा मेयर सरावगी पनि संक्रमित हुनु भएको थियो । ९१ बर्षीया वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोना जितेर घर फर्किएपछि यहाँका अन्य कोरोना संक्रमितहरुको पनि आत्मबल बढेको छ ।