सभागृह बन्यो आइसोलेसन


हेटौंडा, (नेस) ।

मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा हेटौंडा–२ मा रहेको पल्पसा सभागृहमा कोभिड संक्रमितका लागि आइसोलेसन सञ्चालन गरिने भएको छ ।

सभागृहमा आइसोलेसन सञ्चालनका लागि संघबाट ४ लाख सहयोग गरिने संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । संघ उपाध्यक्ष कृष्णकुमार गुप्ताले आइसोलेसन सञ्चालनमा यातायात सुविधाका लागि आफ्नो सुमो निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ । आइसोलेसन सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमतिप्राप्त भएपश्चात् थप तयारीसाथ व्यबस्थापनमा खटिने संघ अध्यक्ष कटुवालले बताउनुभयो ।

संघ अध्यक्ष कटुवालको संयोजकत्वमा संघसंस्थाका प्रतिनिधि सदस्य रहने गरी आइसोलेसन व्यबस्थापन गरिने भएको छ । घरका आइसोलेसनमा रहेका कोभिड संक्रमितको अवस्था बुझ्न, स्वास्थ्य परामर्श तथा औषधीलगायत उपलब्ध गराउन स्थलगतरुपमा खटिने भएको छ ।यस विषयमा भएको छलफलमा एभरेष्ट ग्यास उद्योग प्रालि अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ सदस्य शिवप्रसाद घिमिरेले २५ थान अक्सिजन सिलिण्डर संघलाई हस्तान्तरण गर्नुृभएको थियो भने संघका उपाध्यक्ष गुप्ताले अक्सिजन भर्ने खर्च व्यहोर्नुभएको छ ।