पूर्वप्रहरी महानिरीक्षक बरालको निधन


काठमाडौं, (नेस)

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । नेपाल प्रहरीलाई आधुनिकतामा प्रवेश गराउने श्रेय पनि पूर्वआईजीपी बराललाई जान्छ ।२०१४ साल माघ १० गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा प्रवेश गर्नुभएका स्व. बरालले २०२९ साउन १ गतेबाट कायम मुकायम प्रहरी महानिरीक्षक हुनुभएको थियो भने २०३१ साल जेठ ३१ गते प्रहरी महानिरीक्षक हुनुभएको थियो । उहाँले २०३५ साल जेठ ३१ गते अनिवार्य अवकाश लिनुभएको थियो ।

तत्कालीन राजा वीरेन्द्रका विश्वासपात्रमध्ये एक रहनुभएका बराललाई स्व. राजा वीरेन्द्रले नै वर्माका लागि नेपाली राजदूत बनाएर पठाउनुभएको थियो । उहाँको बुधबार नै प्रहरी सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।नेपाल प्रहरीमा रासन, ब्यारेक र पोशाकको व्यवस्था गर्न उहाँले महत्वपूर्ण योगदान गर्नुभएको थियो । नेपाल प्रहरीमा अहिलेसम्मका आईजीपीमध्ये उहाँलाई सबैभन्दा प्रभावशाली आईजीपीका रूपमा हेर्ने गरिएको छ । उहाँका बारेमा अहिले पनि नेपाल प्रहरीमा विभिन्न किस्सा बन्ने गरेको छ ।
बरालले भारतको माउन्ट आबुबाट आईपीएस तालिम, जापानको ‘टोकियो इम्पिरियल पुलिस कलेज’, संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित कार्डिफ पुलिस स्कुल र संयुक्त राज्य अमेरिकाको एफबीआईबाट विभिन्न तालिम लिनुभएको थियो ।

उहाँले आफ्नो कार्यकालमा भारत र चीनसँग नेपालको सीमा जोडिएको क्षेत्रमा सीमा प्रहरी चौकी स्थापना गर्न महत्वपूर्ण योगदान गर्नुभएको थियो ।प्रहरीमा हुने सरुवा–बढुवामा ‘हुकुम प्रमांगी’ ले संगठनमा उत्पन्न गराउने अस्थिरता र मनोबल गिराउने जस्ता नकारात्मक पक्षका बारे उहाँले राजा वीरेन्द्रलाई जनकारी गराएपछि सो व्यवस्थाको अन्त्य भएको थियो ।उहाँ वर्माका लागि नेपाली राजदूत रहँदा वर्मामा अधिकारविहीन शरणार्थीसरह बसिरहेका नेपालीहरूलाई वर्मेली नागरिकता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै वर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको शुरुआत गराउनुभएको थियो ।