अवस्था अझै दयनीय हुने विज्ञको चेतावनी

कोरोना संक्रमणको डरलाग्दो स्वरूप


दीपक रिजाल, काठमाडौं

नेपालमा तीन प्रकारका कोरोना संक्रमणका नयाँ भेरियन्ट फेला परेपछि नेपालको अवस्था आउँदो महिना अझै दयनीय हुने चेतावनी विज्ञहरुले दिएका छन् । नेपालमा अहिले डी १–१ बेलायतको नयाँ भेरियन्ट, डी १–६१७ इन्डियन र नेपालमा नै विकसित भएको डी १–६१७–१–२ नयाँ भेरियन्ट सक्रिय रहेकाले नेपालको अवस्था अझै दयनीय हुने बताएइको छ ।

नेपालमा सक्रिय नयाँ भेरियन्ट निकै आक्रामक भएकाले अमेरिका, ब्राजिल र बेलायतको भन्दा पनि अवस्था अझै दयनीय हुने डा. रमेश आर्चाय बताउनुहुन्छ । नयाँ भेरियन्टको संक्रमणदर ८० प्रतिशत भन्दा बढी भएकाले नागरिकको मृत्युदर अझै बढ्न सक्ने चेतावनी डा. आचार्यले दिनुभएको छ ।डा. आचार्य भन्नुहुन्छ– ‘नेपालमा अहिले लागू गरेको निषेधाज्ञा खुला गर्ने हो भने नेपालमा मृत्युदर कसैले कल्पना गरेभन्दा बाहिरको हुने भएकाले नागरिकमा सचेतना आउन जरुरी छ । अहिलेको भेरियन्टले सबै उमेर समूहलाई आक्रमण गरिरहेकाले सरकारले अझै पनि सावधानी अपनाउन नसकेको आचार्य बताउनुहुन्छ ।उहाँले कोरोना संक्रमण अवस्था बुझ्न बाँके, बर्दिया, झापा, काठमाडौं र पर्साका कोरोना संक्रमित ५ हजार जनाको ‘होल जिनन सिक्वसिङ’ परीक्षण आवश्यक रहेको बताउँदै नेपालमा कति भेरियन्ट एक्टिभ रहेको र आक्रामक रहेको भन्ने पत्ता लगाउनुपर्ने बताउनुभयो ।

अहिलेको लकडाउनलाई निरन्तरता दिँदै दैनिक ५० हजार पीसीआर र ५० हजार एन्टिजेन परीक्षण गरेर अहिलेको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले तयारी गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।नेपालमा आगामी महिना अझै अवस्था भयावह हुने भएकाले अक्सिजनको सहज ब्यवस्थाका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने विज्ञहरुले बताएका छन् । अहिलेको नयाँ भेरियन्ट निकै आक्रामक भएकाले दैनिक ५ सयदेखि ६ सयसम्म कोरोना संक्रमितको मृत्यु हुने अनुमान पनि विज्ञहरुले गरेका छन् । डा. आचार्य भन्नुहुन्छ– ‘अहिलेको लकडाउनलाई हामीले खुकुलो बनायौं भने नयाँ संक्रमण समुदायमा छि¥यो भने यसले समुदायलाई नै सखाप पार्ने भएकाले त्यसतर्फ ध्यान जान जरुरी छ ।नेपालमा कोरोना संक्रमणको दर उच्च भएसँगै अस्पताल र आइसोलेसन सेन्टर कमीका कारण अक्सिजन नपाएर बिरामीले अस्पतालको बेडमा छटपटाएर मर्न बाध्य भएको अवस्था फेरि पनि दोहोरिन सक्ने भएकाले तयारीलाई तीव्रता दिनुपर्ने विज्ञहरु बताउँछन् ।
सरकारले पनि जेठको अन्तिमदेखि मध्यअसारसम्म नेपालमा कोरोना संक्रमणको दर अझै उच्च हुने अनुमान गरेको छ । सरकारले गरेको तयारीलाई हेर्ने हो भने न्यून मात्रै देखिएको छ ।

नयाँ–नयाँ भेरियन्ट देखिएकाले नेपालका कुल संक्रमितमध्ये १० देखि १३ प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले त्यहीअनुरूपको व्यवस्था गर्न पनि सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् ।बितेको १० दिनमा अक्सिजनको अभावका कारण तीन दर्जन कोरोना संक्रमितको मृत्यु भएको आँकलन गरिएको छ । सरकारले अहिले विभिन्न देशबाट अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री ल्याउने कामलाई निरन्तरता दिए पनि त्यो अपुग हुने डा. आर्चाय बताउनुहुन्छ ।जेठको अन्तिम सातादेखि मध्यअसारसम्म नेपालमा दैनिक ११ हजारका दरले कोरोना संक्रमित थपिने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।त्यसरी थपिने संक्रमितमध्ये ३ प्रतिशतलाई आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने बताइएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जेठमा २ लाख र असारमा २ लाख ५० हजारभन्दा बढी सिलिन्डर आवश्यक पर्ने बताउनुभएको छ ।

नेपालमा चालू र आगामी महिनाका लागि २९ करोड लिटर अक्सिजन आवश्यक पर्ने अनुमान सरकारले गरेको छ । आउने दिनमा अझै अवस्था भयावह हुने भएकाले अस्पतालको बेड बढाउनुपर्ने तर्क विज्ञहरुको छ ।