सेनाको सलामी : आफन्तको जिम्मा, आफ्नै स्थानमा अन्त्येष्टि

28
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना संक्रमितहरुको निधन भएको अवस्थामा आफन्त हरुलाई शव जिम्मा लगाउने कार्यविधि अनुसार नेपाली सेनाको कालिजंग गणले जिल्लाका दुई स्थानमा शवहरु आफन्तको जिम्मा लगाएको छ । जिल्लाको पनौती नगरपालिका १२ स्थित भुमेडाँडा र नमोबुद्ध नगरपालिका वडा नम्वर ६ चरङ्गेफेदीमा सेनाको टोली अन्तिम सलामी दिएर फर्किएको हो । ‘स्वास्थ्य मन्त्रालयलय जारी गरेको निर्देशिकामा आफन्तले चाहेको अवस्थामा शव दिने र सुरक्षित तवरले अन्त्येष्टि गर्न सक्ने उल्लेख भए अनुसार जिल्लामा शव बुझाउन थालिएको हो’– नेपाली सेनाका गणपति कर्णेल मिलन थापाले भन्नुभयो–‘काठमाडौमा शव लैजाने अवस्था हुन छाड्यो । दैनिक शवहरु बढ्न थालेपछि स्थानीय सरकारको समन्वयमा तोकिएको स्थानमा शव अन्त्येष्टि शुरु गरिएको हो ।’ स्थानीय परम्परा अनुसार परिवारका आफन्तले सुरक्षित तरिकाले अन्त्येष्टि गर्न पाउनेछन् । सेनाले अन्तिम सलामी दिनेछ ।

पनौती १२ भुमेडाँडाका ६३ बर्षिय पुरुषले बालाजुमा स्वाब परिक्षण गराएका थिए । उपचारका लागि धुलिखेल अस्पतालमा आउँदा आउँदै अस्पताल प्राङ्गणमै निधन भएको थियो । नेपाली सेना कालीजंग गण धुलिखेलका सेनानी पवन विष्टको कमाण्डमा शवलाई पनौतीको भालेश्वर नजिकैको चित्तामा पु-याईएको थियो । सेनाको टोलीले अन्तिम सलामी दिएर फर्किएसँगै आफन्तले अन्त्येष्टि गरेका हुन् । त्यस्तै धुलिखेल अस्पतालमा उपचारार्थ नमोबुद्ध ६ भकुण्डे घर भएकी ७५ बर्षिया महिलाको शव सह सेनानी ढलक बहादुर मुक्तानको कमाण्डमा रोशी र नमोबुद्ध नगरपालिकाको सिमानामा पर्ने चरङ्गेफेदी घाटमा पु-याई अन्तिम सलामी दिएको मेजर राजेश कार्कीले बताउनु भयो ।

संक्रमणबाट निधन हुनेहरुलाई यस अघि पशुपति पु-याउँदै आएको मेजर राजेश कार्कीले बताउनु भयो । ‘पशुपपतिमा रहेको इलेक्ट्रिक शवदाह गृहमा शवहरुको संख्या धेरै भएकाले असहज परिस्थिति निर्माण भए पछि जिल्लामै ब्यवस्थापनका लागि तयारी गरिएको हो’– क्याप्टेन प्रविन थापाले बताउनुभयो । जिल्ला संकट ब्यवस्थापन केन्द्रले मंगलबार आयोजना गरेको बैठकले स्थानीय तहबाट पहिचान भई आएका स्थानीय तहका केहि क्षेत्रहरुमा तोकिएको मापदण्ड बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

पाँचखाल नगरपालिकाका लागि पाँचखाल र भुम्लु गाउँपालिका बीचको दोलालघाट बगर क्षेत्र, मण्डनदेउपुर नगरपालिकाका लागि वडा नम्वर ७ र ९ को सिमानाको मशानेपाटी घाट क्षेत्र, वैकल्पिक क्षेत्र वडा नम्वर १ र ५ को सीमानामा पर्ने लट्टघारी वन क्षेत्र र वडा नम्वर १२ को बाँसखर्क लगायत सामुदायिक वन क्षेत्र, चौंरीदेउराली गाउँपालिकाका लागि चिहानडाँडा, गोठपानी, सुङ्गेखोला, चौंरीखोला वडा नम्वर ५, चलाखु चिहानडाँडा, काप्mले चिहानडाँडा, सलम्बु चिहानडाँडा र चौंरीखोला वडा नम्वर ३ मा चयन गरिएको छ ।

भुम्लु गाउँपालिकाका लागि सुनकोसी नदि र ईन्द्रावतीनदिको दोभान, खानीखोला गाउँपालिकाका लागि बागमती घाट खानीखोला ५, रोशीका लागि भ्याकुरे खोला र रोशीखोला त्रिवेणी घाट क्षेत्र चयन भएको छ । बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिकाले शव ब्यवस्थापनका लागि स्थान छनौट गरेका छैनन । पछिल्लो समय बनेपा, धुलिखेल र पनौतीका धेरै नागरिकहरु संक्रमणबाट ज्यान गुमाउनेको सूचीमा छन् । पालिकाहरुले शव ब्यवस्थापनका लागि साझा स्थान छनौट प्रयास नगरे जिल्ला बाहिर र जिल्ला भित्रकै तर विकट क्षेत्रका नागरिकहरु उपचारका क्रममा अस्पतालमा निधन भएको अवस्थामा शव ब्यवस्थापनमा कठिन हुने सम्भावना छ ।