पर्सामा तेस्रो पटक निषेधाज्ञा थपियो

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा बैशाख १६ गते देखि जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । बुधबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्दको बैठकले जेठ ६ गते बिहबिार सम्मका लागि लगाइएको निषेधाज्ञा जेठ १३ गते सम्मका लागि थप्नका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पर्सा जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा, संक्रमणको चेनब्रेक गर्न उपयोगी देखिएकाले जेठ १३ गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा बैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक बैशाख बैशाख २३ गतेबाट पुनः थप गरी बैशाख ३० गतेसम्मका लागि लम्बाइएको थियो ।

त्यसपछि दोश्रो पटक बैशाख ३० गतेबाट जेठ ६ गते भोलि बिहीबार सम्मका लागि थप गरिएको थियो । बुधबार तेश्रो पटक थप गरी जेठ १३ गतेसम्मका लागि निषोधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । बैठकले वीरगन्जका निजी अस्पतालहरुमा संक्रमितको उपचारको अवस्था र अस्पतालले लिने गरेको सेवा शुल्कका विषयमा अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले अस्पतालहरुमा अक्सीजन आपुर्तिको सहज व्यवस्था मिलाउने , एन्टिजेन किटका लागि संघ र प्रदेशका स्वासथ्य मन्त्रालयमा आग्रह गर्ने निर्णय पनि गरेको पौडेलले जानकारी दिनुभयो ।बैठकले वीरगन्जको नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि ठेक्का भइसकेको भएपनि ठेकेदारले काम शुरु नगरेकाले समयमै काम सम्पन्न गर्न सम्बन्धित ठेकेदारलाइ ताकेता गर्ने निर्णय पनि गरेको छ ।

संक्रमितको दर घट्दै

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा पछिल्ला करिब दुई सतायता संक्रमणको दर घट्दै गएको पाइएको छ । मंगलबबार राति गरिएको परीक्षणमा भने संक्रमण दर ३८.८० प्रतिशत मात्र देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनाको परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।संक्रमण पुष्टि भएका १०६ जना मध्य ७७ जना पर्साका, १५ जना बाराका , ६ जना रौतहटका र ८ जना सर्लाहीका रहेका छन् । डेढबर्षदेखि ७५ बर्ष उमेर समूहका ८१ पुरुष र २५ जना महिलामा संक्रमण देखिएको डाक्टर दासले बताउनुभयो ।

यसअघि अस्ती सोमबार राति नारायणी अस्पतालकै प्रयोगशालामा २८८ नमूना स्वाब परीक्षण गर्दा पर्साका ५८ जना सहित ९५ जनामा संक्रमण पुष्टि भएको थियो । वीरगन्जमा बैशाख तेश्रो साता तिर संक्रमण दर बढेर ७० प्रतिशत भन्दा बढि पुगेको थियो । तर बैशाख अन्तिम साता यता देखि भने संक्रमण दर औसतमा ४५ प्रतिशतमा झर्दै मंगलबार भने ३८ प्रतिशतमा पुगेको छ ।

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बैशाख २५ देखि यता दैनिक हुदै आएको परिक्षणमा संक्रमण दर ४५ प्रतिशतको हाराहारीमा रहेकोमा पछिल्लो २ दिनमा भने संक्रमण दर अझ घटेर ३८ प्रतिशतमा झरेको छ । बैशाख २५ देखि जेठ ४ गते राति सम्म २ हजार ९ सय ४१ जनाको परिक्षण गर्दा १ हजार २ सय ६९ जनामा अर्थात ४३.१४ प्रतिशतमा संक्रमण भेटिएको हो । निषेधाज्ञाले संक्रमणको चेन ब्रेकमा काम गरेकै कारणले वीरगन्जमा संक्रमण दर कम हुदै गएको अनुमान गरिएको छ ।