एमसीसीको ईआईए पारित


नेपाल समाचारपत्र, काठमाडौं

वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए–नेपाल द्वारा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरसन एमसीसीबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङन प्रतिवेदन ९ईआईए० स्वीकृत गरेको छ ।

गत वैशाख १६ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गरिएको उक्त वातावरणीय प्रभाव मूल्याङ्न प्रतिवेदन विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सब–स्टेशनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी कार्यको एक प्रमुख अंश हो । ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गर्नुपूर्व पूरा गर्नुपर्ने कार्यस्थलमा पहुँचसम्बन्धी पूर्वसर्त हासिल गर्नेसन्दर्भमा यो उपलब्धि एउटा महत्वपूर्ण कोशेढुंगा हो,’ एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट भन्नुभयो–‘अर्को महत्वपूर्ण कोशेढुंगा यस सम्झौताको संसदीय अनुमोदन हुनेछ ।’‘प्रतिवेदनले आयोजना कार्यान्वयन गरिने स्थानका भौतिक, जैविक, सामाजिक–आर्थिक तथा सांस्कृतिक वातावरणको वर्तमान अवस्था पहिचान गरेको छ र सम्भावित प्रभाव न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे सुझावहरू पनि प्रस्तुत गरेको छ ।’ प्रतिवेदन नेपालको वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ को अधिनमा रही स्वीकृत गरिएको हो ।

वातावरणीय प्रभाव मूल्याङ्नका क्रममा तथ्याङ्क संकलन तथा विश्लेषणका लागि सघन कार्यविधि अपनाइनुका साथै आयोजना कार्यान्वयन गरिने १० वटा जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सञ्चालन गरिएको थियो । नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर गरिएको थियो । जसबाट विद्युत् प्रसारण आयोजनाले करिब ३१४ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा तीन वटा ४०० केभी क्षमताका सब–स्टेशन निर्माण गर्नेछ । उक्त प्रसारण लाइन १० वटा जिल्लाका ३० वटा पालिका भएर जानेछ । त्यस्तै सडक मर्मत आयोजनाले नेपालका सडकको मर्मतसम्भार गर्नुका साथै नेपालमा सडक मर्मतसम्बन्धी नयाँ प्रविधि प्रयोग गर्नेछ ।