प्रहरीले पहिलो पटक बनायो, रातो मच्छिन्द्रनाथ केन्द्रीत सुरक्षा खाका

५ सय २५ जना प्रहरी परिचालन गरिने

224
Shares

सुनील महर्जन,ललितपुर ।

बुंगद्यो अर्थात रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्रा समापन गर्न बुधबार उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोकको मण्ड फल्चा ( सो¥हखट्टे पाटी) मा रहेको रथबाट  रातो मच्छिन्द्रनाथलाई धार्मिक विधि पूर्वक निकालेर  खटमा बिराजमान गराई बुड्डमती लाने सुरक्षा योजना मंगलबार तयार गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।

‘ रातो मच्छिन्द्रनाथको रथयात्राको सम्बन्धमा उच्च सुरक्षा सतर्कता अपनाइने छ । यसका लागि सुरक्षा योजना बनाएका छौं । ’ प्रहरी उपरीक्षक महर्जनले भन्नुभयो । सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको पनि प्रवक्ता महर्जनको भनाई रहेको छ।परिसरले रथयात्रा केन्द्रीत सुरक्षा योजना तयार पारिएको यो नै पहिलो पटक हो।महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ आसपास बुधबार करिब ११ बजेपछि ३ सय ७५ जना प्रहरी परिचालन गरिने छ भने टंगलस्थित मीमनाथको रथको वरपर १ सय ५० प्रहरी परिचालन गरिने छ । रथबाट निकालेर मच्छिन्द्रनाथलाई बुड्डमती पु¥याउन सुरक्षा चुनौती आंकलन गरी योजना तयार पारिएको प्रहरी उपरीक्षक महर्जनले बताउनुभयो ।

रातो मच्छिन्द्रनाथको सुरक्षा कमान्डको लागि भने परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य स्वयं खटिनुहुनेछ ।‘ जेठ १ गते शनिबार भएको रथयात्रामा पनि सुरक्षा कमाण्ड मिलाउन बज्राचार्य स्वंयं खटिनुभएको थियो । ‘ प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सुरक्षा दिनेछ । रथबाट देवतालाई निकाल्ने बेला सीमित मानिसहरु मात्र राख्ने छौं । रातो मच्छिन्द्रनाथलाई सुरक्षित तरिकाले बुंड्डमती पु¥याइने छ । पानेजुहरुलाई सम्मान गर्दै गाडीमा राखेर पुल्चोक ल्याउने व्यवस्था गर्नै छौं ।’ प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले भन्नुभयो । सरोकारवाला सबैको अपनत्व रहने गरी सो निर्णय गरिएको पनि प्रमुख बज्राचार्यको भनाई रहेको छ ।

गुठी संस्थान ललितपुरका प्रमुख खिमा वलीका अनुसार पानेजुहरुले धार्मिक विधिपूर्वक पुजाआजा गरेपछि दिउँसो १ बजे देवतालाई खटमा राखेर बुड्डमती पु¥याइनेछ । यस अघि बिहान ६ः ५० देखि ७ ः ०४ सम्म किसली पुजा र साईत पुजा गरिने संस्थानले जनाएको छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा सरोकारवालाको अनिर्णयको बन्दीले गर्दा गत वर्ष भदौं १८ गते विहीबार स्थानीयले स्वतःस्र्फूत रथ तानेपछि स्थानीय र प्रहरीबीचको झडप निम्तिएको थियो । सोही घटनाबाट पाठ सिकेर प्रहरीले १९ जातीय समाज र खलः पुचः का साथै बाराही, यँग्वाल, घकूका साथै पानेजुहरुसंगबीच छुट्टाछुट्टै बैठक बसेर समन्वय र सहजीकरण गरेको थियो । कोरोना संक्रमणकोको जोखिम बढीरहेको बेला सुरक्षित तरिकाले रथयात्रा सम्पन्न गर्नका लागि सबैसंग समन्वय र सहजीकरण गरिएको पनि प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

परिसरका अनुसार रातो मच्छिन्द्रनाथको रथयात्राका सम्बन्धमा गत वर्ष स्थानीय र प्रहरीबीच भएको झडपबाट पाठ सिकेर यस वर्षदेखि रथयात्राको लागि अलग्ग तवरले सुरक्षा योजना बनाउन शुरु गरिएको हो ।कोरोना जोखिमका कारण उपत्यकाका सबैभन्दा लामो रथयात्रा यस वर्ष डेढ मिटर दुरीसम्म सीमित गरिएको छ । निषेधाज्ञाको अवधिमा पनि सुरक्षा चुनौतीलाई विश्लेषण गरेर रथआसपासमा जेठ १ देखि बुधबारसम्म पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको थियो ।