सामाजिक दूरी कायम गर्दै दुई दिनमा ११७८ ले लगाए कोरोनाविरुद्धको खोप



मोतीराम तिमल्सिना, काभ्रे ।

सामाजिक दूरी कायम राख्दै निषेधाज्ञाको पूर्ण पालनाका साथ जिल्लामा खोप अभियान संचालन भईरहेको छ । जेठ २ गते देखि शुरु भएको अभियान ६ गते विहिबारसम्म संचालन हुनेछ ।

‘जेठ ३ गतेसम्म १ हजार १ सय ७८ जनाले तेश्रो चरणको दोश्रो मात्रा लगाएका छन्’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘महामारीका बीच सामाजिक दुरी कायम राखी खोप लगाउन आउनेहरुको संख्या धेरै छ । तोकिएको समय भित्र अधिकांश नागरिकहरुले खोप लगाउँछन भन्ने हाम्रो विश्वास छ ।’

खोप लगाउने मध्ये ५ सय ३९ महिला छन् भने ६ सय ३९ पुरुष छन् । जिल्लामा दोश्रो मात्रा खोप लगाउनेको संख्या ८ हजार ६९ पुगेको छ भने पहिलो मात्रा लगाउनेहरुको संख्या २९ हजार २ सय ३३ रहेको छ । महामारीका सक्रमण धेरै हुँदा हुँदै पनि सामाजिक दुरी कायम राखी स्वास्थ्य कार्यालयले तोकेको मापदण्ड अनुसार जिल्लाका ७ वटै खोप केन्द्रमा खोप अभियान संचालन भईरहेको छ । प्रशासनको निषेधाज्ञा, स्थानीय सरकारले कोरोना संक्रमण फैलन नदिन गरिरहेको कडाईलाई समेत ब्यवस्थापन गर्दै नागरिकहरुलाई सुरक्षित रुपले खोप सेवा प्रदान गरिरहेको डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

स्वास्थ्य कार्यालयले जुन जुन खोप केन्द्रहरुमा अभियान संचालन भएको छ त्यहि पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरुलाई जिम्मेवारी तोकेको छ । जसका कारण अभियान सफल हुनुका साथै सामाजिक दुरी कायम गरी नागरिकहरुले सहज ढंगबाट खोप लगाउन सकेका छन् । यो पटक यस अघि जहाँ जहाँ खोप लगाएको भए पनि कार्डका आधारमा घर पायक खोप लगाउन दिईएको छ । त्यसले नागरिकहरुलाई सहज भएको बताईएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेले २०७७ चैत्र २६ गते देखि बैशाख ६ गतेसम्म कोभिड १९ विरुद्ध भेरोसेल पहिलो डोज खोप लगाएकाहरुलाई दोश्रो डोज जेठ २ गते देखि दिनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । ‘जिल्लाको धुलिखेल अस्पतालमा पहिलो डोज भेरोसेल खोप लगाउने ब्यक्तिहरुका लागि जेठ २ देखि ६ गतेसम्मको कार्यतालिका बनाएका छौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘समय र स्थानका बारेमा स्थानीय पालिकाहरुमा सम्पर्क ब्यक्ति समेत तोकेर सर्वसाधारणहरुको जानकारीका लागि सूचना प्रकाशन गरेका छौं ।’ कोभिड १९ विरुद्धको खोप लगाएका अधिकांश ब्यक्तिहरुमा संक्रमण नभएको र केहिमा देखिएको संक्रमणबाट पनि जोखिम नदेखिएकाले महामारीकै बीचमा भेरोसेल खोपको दोश्रो डोज दिईएको हो ।

जिल्लामा २०७७ चैत्र २६ देखि ३० गतेसम्म खोप लगाउनेहरुलाई जेठ २ गते, चैत्र ३१ गते लगाउनेहरुलाई जेठ ३ गते, बैशाख २,३ र ४ गते खोप लगाउनेहरुलाई जेठ ४ गते र बैशाख ५ र ६ गते खोप लगाउनेहरुलाई जेठ ५ र ६ गते दोश्रो डोज लगाउने गरी तालिका सार्वजनिक गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो । अन्य ब्यक्तिहरुको हकमा पुनः अर्काे सूचना प्रकाशन गरिनेछ । जिल्लाको मेथिन्कोट अस्पतालमा रोशी, तेमाल र नमोबुद्ध नगरपालिकाको खोप केन्द्र कायम गरिएको छ भने डेडीथुम्का मावीमा मण्डनदेउपुर नगरपालिकाको खोप केन्द्र कायम गरिएको छ । त्यस्तै धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिकाको केन्द्र कायम गरिएको छ ।

पाँचखाल नगरपालिकाको सभा हलमा भुम्लु र पाँचखालका स्थानीयहरुले खोप लगाउने छन् । कात्तिकेदेउराली स्वास्थ्य चौकीमा चौरीदेउराली गाउँपालिकाको खोप केन्द्र कायम गरिएको छ । शिक्षा सदन मावी बनेपा लायकुमा बनेपा नगरपालिकाको खोप केन्द्र कायम गरिएको छ । पनौती स्वास्थ्य चौकीमा पनौती नगरपालिका र बेथान्चोक गाउँपालिकाको खोप केन्द्र कायम गरिएको छ । १३ वटा पालिकाकाको ७ वटा खोप केन्द्र कायम गरिएको प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

जिल्लामा भेरोसेल खोप लगाउनेहरुको संख्या ५ हजार २ सय ४० रहेको छ । पहिलो मात्राको पहिलो चरणमा ६ हजार ७ सय ९९, दोश्रो चरणमा १७ हजार १ सय ७१, तेश्रो चरणमा ५ हजार २ सय ४० गरी २९ हजार ३ सयले खोप लगाएका थिए । दोश्रो मात्रा खोप लगाउनेको संख्या ६ हजार ५२ रहेको छ । महामारीका बीच पनि लक्ष्य अनुसार खोप कार्यक्रम सम्पन्न भएको डा. झाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्