स्याङ्जामा अक्सिजन अभाव हुन दिने छैन: मन्त्री अर्याल



हिमाल जि.सी, काठमाडौ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्यमा कुमारी अर्यालले गृह जिल्ला स्याङ्जामा अक्सिजनको अभाव हुन नदिने बताउनु भएको छ ।कोरोना भाइरसको दोस्रो संक्रमणका कारण देशभरि अक्सिजनको अभाव भइरहेको बेला मन्त्री अर्यालले एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । मदन आश्रितको २८ औ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) स्याङ्जाले आयोजनामा भर्चुल कार्यक्रमलाई प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै आफ्नो गृहजिल्लाका नागरिक अक्सिजनको अभावमा मृत्युवरणहुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । अक्सिजन अभाव हुन नदिन आफूले जुनसुकै कदम पनि चाल्न तयार भएको बताउनु भयो ।

जिल्लामा कुनै पनि बेला अक्सिजनको अभाव भएमा आफूलाई तुरुन्त जानकारी गराउन पनि मन्त्री अर्यालको आग्रह थियो । नेकपा एमाले स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे ‘पारस’को सभापित्वमा सम्पन्न उक्त भर्चुअल कार्यक्रममा सिद्धार्थ राजमार्गले नछोएका स्थानीय निकायमा राज्य तथा पार्टीको ध्यान पुग्न नसकेको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनु भयो । “विकासको क्षेत्रमा पहिलेदेखि पछाडि परेका निकायहरुमा हालको अवस्थामा एम्बुलेन्स र शववाहन जस्ता अत्यावश्याक साधनहरुको अभाव हुनु दुखद् रहेको छ ।” थापाको भनाइ थियो ।

उक्त कार्यक्रममा बोल्दै कालीगण्डकी सरोकार समाजका अध्यक्ष अनिश न्यौपानेले गाउँ गाउँमा कोरोना भाइरसको असर र वचावटका बारेमा जनचेतना नहुँदा संक्रमणले भयावह अवस्था सिर्जना गरेको भन्दै यसको लागि पार्टी तथा सरकारले छिट्टै कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कम्युनिष्ट आन्दोलनका एक धरोहर पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको शंकास्पद दुर्घटना बारे पार्टी पटक–पटक सरकारमा गएर पनि छानबिन गर्न कुनै चासो नदिएको भन्दै घटनाको यथार्थ छानबिन गरी वास्तविकता जनता सामु ल्याउन पार्टी पंक्तिलाई वक्ताहरुको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्