डा. रुपक महर्जन
(निर्देशक, नेपाल एपिएफ अस्पताल)
हाललाई अध्ययनकै विषय रहेको कोभिड संक्रमितको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा लगातार फोन आईरहेका छन् । सम्बन्धित चिकित्सकले फोनबाटै बिरामीको अवस्था बुझी आवश्यक परामर्श र सल्लाह दिइरहनु भएको छ । बिरामीको स्वास्थ्य अवस्था हेरी अस्पतालमा उपचार समेतको व्यवस्था मिलाउँदै आएका छौं ।
नेपालमा कोभिडको प्रकोप अहिले ह्वात्तै बढेको छ । यो जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना नगरेर हो या अन्य कारण भन्ने विषय हाललाई अध्ययनकै विषय बनेको छ । नेपालमा कोभिड महामारी यसरी फैलिन्छ भन्ने पूर्वानुमान थियो । त्यसैले नै यस अस्पतालमा एचडीयु लगायतका सेवासँगै अक्सिजन प्लान्टसमेत जडान गरिएको छ । कोभिडको पहिलो चरणको पाठलाई हेरेर नेपालले आवश्यक तयारी गरे पनि संक्रमितको संख्या उल्लेख्य मात्रामा बढेकोले उपलव्ध साधन स्रोतले धान्न नसक्ने अवस्था सिर्जना भएको हो ।हाम्रो अनुभवमा दोस्रो लहरको कोभिडमा पहिलेको भन्दा संक्रमण क्षमता बढी देखिएको छ । तर संक्रमितको मृत्यु हुनुमा मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घ रोगका साथै बृद्ध अवस्था कारण देखिएको छ । समयमै उपचार पाए क्यान्सर लागेका, मृगौला फेल भएका विरामी पनि संक्रमणबाट मुक्त हुन्छन्, भएका पनि छन् । यहाँबाट उपचारपश्चात् निको भई घर फर्किएका संक्रमितमध्ये केही क्यान्सरका बिरामी र मृगौला फेल भएका बिरामीसमेत छन् ।
कोभिड विरुद्वको खोप नलगाएका व्यक्तिमा भन्दा खोपको पहिलो मात्रा लिएकामा खतरा कम भएको पनि देखिएको छ । हालसम्मको तथ्यांकंलाई आधार मान्ने हो भने दुबै मात्रा खोप लगाएका व्यक्तिमा संक्रमण भएता पनि सामान्य किसिमका लक्षण देखिने तर जटिलता भने कम हुने गरेको पाइएको छ । त्यस्तै एक पटक संक्रमण भईसकेकोलाई पुनः संक्रमण हुने सम्भावना भए पनि संक्रमण भएको ३ देखि ६ महिनासम्म पुनः संक्रमणको जोखिम कम रहेको बिभिन्न अध्ययनले देखाएको छ ।कोभिड रोकथामका लागि एपिएफ अस्पतालले जनचेतनामुलक कार्यक्रम, खोप र उपचार सेवाका साथै परीक्षण सेवा निःशुल्क सञ्चालन गर्दै आईरहेको छ । बिरामीको अवस्थाको आधारमा वार्डका साथै एचडीयु र आईसियु सेवा समेत दिँदै आएका छौं । ८ भेन्टिलेटरसहित, २० शैय्या आईसियु, ५० शैय्या एचडियु र १ सय ३० शैय्या जनरल वार्ड गरी २ सय शैय्याको कोभिड अस्पतालको रुपमा यसलाई सञ्चालन गरी रहेका छौं ।चिकित्सकलगायत उपचारमा संलग्न सम्पूर्ण कर्मचारीले पहिलो लहरको कोभिडमा १५ दिनको आवासिय डिउटी गरेका थिए । हालको दोस्रो लहरमा ७ दिनको आवसिय डिउटी गरि रहेका छन् । बिरामीको अत्याधिक चाप रहेकाले अक्सिजन, फोहरमैला व्यवस्थापन, मानव संसोधनको कमीजस्ता समस्याका बावजुद गत वैशाख २ गतेदेखि हालसम्म मात्रै २ हजार ७ सय ४८ जना संक्रमितको सफलतापूर्वक उपचार गरिसकेका छौं । दोस्रो चरणको कोभिडमा संक्रमितको संख्या नै अत्याधिक देखिएको छ ।
त्यही अनुपातमा जटिल संक्रमित बढिरहेकाले अक्सिजनको आवश्यकता परिरहेको छ । अक्सिजन अभावका कारण देशभरका संक्रमित प्रभावित भएका छन् । तसर्थ अक्सिजन जेनेरेटर÷प्लान्ट, सिलिण्डरहरूको संख्यामा बृद्धि गरि आवश्यकताअनुसार वितरण गरिनु जरुरी छ ।कोभिडको चेन ब्रेकको लागि सामाजिक दुरी, मास्क र गुणस्तरिय स्यानिटाईजरको प्रयोग, बारम्बार साबुन पानीले हात धुने, खोप लगाउने संक्रमितहरू बाहिर ननिस्की आईसोलेसनमा बस्ने र संक्रमितको सम्पर्कमा आएकाहरू क्वारेन्टिनमा बस्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ । कोभिड संक्रमितको संख्या बढ्न नदिन जनस्वास्थ्यका मापदण्डलाई पुर्ण रुपमा पालना गर्नुको साथै संक्रमितहरूको उचित व्यवस्थापन गर्नुपर्छ । यो विषम परिस्थितिमा नेपालमा उपलव्ध साधन स्रोत र स्वास्थ्यकर्मीलाई उच्चतम परिचालन गर्दै सामुदायिक सहभागिता गराएर बिभिन्न माध्यमद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे कोभिड रोकथाम तथा नियन्त्रणमा सहज हुनेछ । अन्यथा यो महामारीले थप भयावह स्थिति ननिम्त्याउला भन्न सकिन्न ।
संक्रमित दिन प्रतिदिन बढिरहेकाले अक्सिजनको जोहो गरी अक्सिजनसहितका बेडको संख्या थप गर्नु आवश्यक छ । हाल उपलव्ध बेडमै पनि अक्सिजन उपलव्ध गराइए उपचारमा सहज हुनेछ । सरकारी तथा गैह्र सरकारी अस्पतालका बीच संक्रमितको उपचारको लागि आवश्यक समन्वय उत्तिकै आवश्यक छ । अस्पतालबाहिर आईसोलेसनमा रहेका संक्रमितहरू नियमित रुपमा स्वास्थ्यकर्मीको सम्पर्कमा बस्नुपर्छ । स्वास्थ्यमा जटिलता देखिए तुरुन्त अस्पताल जाने व्यवस्था मिलाइनुपर्छ । संक्रमितको स्वास्थ्यमा समस्या आए नजिकको कोभिड अस्पतालको इमर्जेन्सीमा पुगे उपचार पाइन्छ । सम्पूर्ण निजी अस्पतालले नेपाल सरकारसँग आवश्यक समन्वय गरी सर्वसुलभ रुपमा उपचारको व्यवस्था मिलाउनु पर्छ।
(सशस्त्र प्रहरी एसएसपी डा. महर्जनसँग समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया