टोकला चिया बगान झापाद्वारा निषेधाज्ञाको अवज्ञा



न्युज अफ नेपाल,भद्रपुर ।

मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

विश्वभर महामारीका रुपमा रहेको कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गदैं नगरको ७ र ८ नम्बर वडामा सयौ विगाह क्षेत्रफलमा रहेकोे टोकला चिया कमान सञ्चालनमा रहेको गुनासो आएपछि नगर प्रमुख विमल आचार्यको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य गङ्गा पाठक, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाललगायतको टोलीले कारखानामा नै पुगेर नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।

‘टोकला चिया बगानले सरकारको निर्णयलाई अटेर गरी निर्वाधरुपमा सञ्चालन गरेको गुनासो प्राप्त भएपछि नगरपालिकाको तर्फबाट हामी त्यहाँ पुग्यौं’ नगरप्रमुख आचार्यले भने—‘हामीले बगान प्रशासनलाई स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै श्रमिकलाई काममा लगाउन निर्देशन दिएका छौ । ’ हरेक दिन गाउँगाउँबाट श्रमिक आउने जाने क्रम बन्द गर्न र उद्योगभित्र कार्यरत मजदुरहरुलाई बाहिर खुलारुपमा आवतजावत गर्न नदिई भित्रै सुरक्षा सामग्री प्रयोग गरेर काममा लगाउन नगरपालिकाले बगान प्रशासनलाई भनेको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा उद्योग सञ्चालकहरुले उद्योग सञ्चालन गर्नुपरे सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मानेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्