कोभिड बेडका लागि प्रदेशको सवा २ करोड



न्युज अफ नेपाल, हेटौंडा ।

कोभिड संक्रमितको उपचारका लागि बागमती प्रदेश सरकारले १ सय ५० बेडको वार्ड सञ्चालन गर्न बागमती प्रदेश सरकारले निजामती कर्मचारी अस्पताल काठमाडौंलाई सवा २ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि शनिबार अस्पताल र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच सम्झौता भएको हो ।

मन्त्रालयका तर्फबाट बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पतालका कार्यकारी निर्देशक डा. विधानानिधि पौडेलबीच हस्ताक्षर भएको छ । सम्झौताको शर्तअनु्सार निजामती कर्मचारी अस्पतालले हाललाई बढीमा १ सय ५० बेडको कोभिड अस्पतालमा परिणत गरी सञ्चालन गर्नुपर्नेछ । जसका लागि मन्त्रालयले २ करोड २४ लाख ५० हजार अनुदान सहयोग उपलब्ध गराउनेछ ।

अस्पतालले कोभिड संक्रमितको दैनिक अनलाइन प्रतिवेदन तोकिएको ढाँचामा स्वास्थ्य कार्यालय काठमाडौंलाई पठाउनुपर्नेछ । अस्पतालमा कम्तिमा १ सय ५० बेडको थप कोभिड बेड स्थापना गरी सञ्चालन गर्दा आबश्यक पर्ने आर्थिक सुबिधा, भौतिक सुबिधा (औषधि, उपकरण, फर्निचर, भवन) र जनशक्तिलगायतको व्यबस्था अस्पतालले नै व्यबस्थापन गर्नुपर्नेछ ।

सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी, प्रदेशसभाका एमाले मुख्य सचेतक दीपक निरौला, प्रदेशसभा सदस्य गणेशप्रसाद दुलाल र काठमाडौं–३१ अध्यक्ष नारायणप्रसाद भण्डारीको विशेष उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरिएको थियो ।
हेटौंडा अस्पतालमा अक्सिजन कमी भएपछि कोरोना संक्रमणका कारण अक्सिजनको सहायतामा उपचाररत् ४० भन्दा बढी संक्रमितलाई अन्य जिल्ला पठाउने तयारी थालिएको छ । मकवानपुरमा अक्सिजन निर्यातकर्ता चितवन, बारा, पर्सालगायत जिल्लाले आफ्नै जिल्लामा अक्सिजनको माग बढिरहेको भन्दै मकवानपुर पठाउन असमर्थ भएको सन्देश दिएपछि अतिजोखिममा रहेका संक्रमितलाई अन्यत्र पठाउन लागिएको हेटौंडा अस्पतालले जनाएको छ ।

हेटौंडा अस्पताल सञ्चालन तथा व्यबस्थापन समिति अध्यक्षसमेत रहनुभएका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका रजिष्टार राजेश प्रसाईँले धेरैतिर पहल गर्दासमेत अक्सिजन नपाइएको बताउनुभयो ।

हेटौंडामा रहेको चुरेहिल अस्पताल तथा मकवानपुर सहकारी अस्पतालले पनि अक्सिजन अभाव भएको भन्दै कोभिड संक्रमित भर्ना गर्न नसकिने जनाएको छ । संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालहरुले कोरोना संक्रमितका लागि आबश्यक अक्सिजन आयात गर्न नसकिएको भन्दै संक्रमित भर्ना लिन नसकिने जनाएका हुन् ।

३० बेडको एचडीयु सेवासहित कोभिड संक्रमितको उपचार गर्दै आएका चुरेहिल र सहकारी अस्पतालले अक्सिजन आयात गर्न नसकिएको गुनासो गरेका छन् । ती अस्पतालले मकवानपुरमा अक्सिजन प्लान्ट नभएको र बाहिरी जिल्लाबाट हेटौंडामा खपत हुने अक्सिजन सिलिन्डर कम आउन थालेको जनाएका छन् ।

अक्सिजन अभाव झेलिरहेको हेटौंडा अस्पतालका कोरोना संक्रमितका लागि हेलिकोप्टर चार्टर गरेर अक्सिजन कन्स्ट्रेटर ल्याइएको छ । बाहिरी जिल्लाबाट अक्सिजन आयातमा समस्या भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेलिकोप्टर चार्टर गरेर ८ वटा अक्सिजन कन्स्ट्रेन्टर ल्याएको हो ।

अक्सिजन कन्स्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एक प्रकारको विद्युतीय उपकरण हो । हावामा २१ प्रतिशत अक्सिजन हुन्छ । कन्स्न्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने गर्दछ । यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यो आईसीयुमा उपचाररत् बिरामीका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ । अक्सिजन कन्स्ट्रेटरले प्रतिमिनेट ५–१० लिटर अक्सिजन उपलब्ध गराउन सक्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्