विदेशमा चासो र चिन्ता तर मुलुकमा बेवास्ता


दीपक रिजाल, काठमाडौं

अन्तर्राष्ट्रिय चर्चामा प्रायः प्राथमिकतामा नपर्नेे हाम्रो देश नेपाल यसपटक भने दुई–दुईवटा विषयका कारण चर्चित भइरहेको छ । नेपाललाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको विषय एउटा कोरोना संक्रमणको उच्च वृद्धिदर हो भने अर्को राजनीतिक अस्थिरताले दलहरूबीच ल्याएको ध्रुवीकरण ।

विश्वकै चिन्ताका कारण बनेको कोरोना संक्रमणको दोस्रो लहरले यति बेला नेपालमा भयावह रूप धारण गरेको छ । यस्तो भयावह परिस्थितिबाट हाम्रा नेताहरू कत्ति पनि चिन्तित र बिचलित भएका छैनन् । तर, अमेरिकी सिनेटरहरू भने नेपालको भयावह अवस्था देखेर चिन्तित हुन थालेका छन् ।अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा व्यापक छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्सका बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपालका बारेमा जानकारी माग गर्नुभएको थियो ।कोभिड महामारीका लागि यूएसएआईडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्ड्याकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको संक्रमण पाइएको जानकारी सिनेटमा गराउनुभएको थियो । उहाँले नेपालमा फैलँदो अवस्थामा रहेको कोरोना संक्रमणको दर उच्च भएकाले नेपाललाई अतिरिक्त सहायताका प्रदान गर्ने योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिनुभयो ।

अमेरिकी सिनेटमा कोभ्याक्समार्फतको खोप केही साताभित्रै नेपालमा नपठाउने हो भने नेपालमा जे पनि हुन सक्ने आशंका व्यक्त गर्दै उहाँले उक्त खोप केही साताभित्र नेपाल पुग्ने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको थियो ।तर, जुन देशको कुरा विदेशमा भइरहेको छ, त्यही देशका सरकार र नेताहरू सत्ता प्राप्तिको खेलको उत्कर्षमा छन् । उनीहरूलाई अझै पनि कोरोना संक्रमणको अप्रत्यासित बढ्दो दरले छुन सकेको देखिँदैन ।कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा उपचाररत सर्वसाधारण अक्सिजन ग्यास नपाएर दैनिक दर्जनौंको संख्यामा मृत्युवरण गरिरहँदा समेत दलका नेताहरूले यस्तो भयावह स्थितिबाट बेखबरझै बनी सत्ताकै पछि दौडेर जनताका रोदनलाई पाखा लगाएका छन् ।बिहीबार बिहानदेखि बेलुकासम्मको राजनीतिक परिदृश्यलाई नियाल्ने हो भने नेतामा नैतिकता हराएको प्रस्ट भान हुन्छ । नेता नेताको दौडधुपले देश कोरोना संक्रमणबाट आक्रान्त छ भन्ने समेत बिर्साइदिन्छ ।

यति नै दौडधुप कोरोना संक्रमण नियन्त्रणमा गरिएको भए अकालमा ज्यान गुमाइरहेकाकोे संख्यामा कमी आउनेमा द्विविधा छैन । अहिले पनि सर्वसाधारण एक सिलिन्डर ग्यास र एक मुठ्ठी श्वासका लागि सरकार र नेताहरूको मुख ताकिरहेका छन् । आफूले मानेको अनि आफूले चुनेको नेताले अरू केही नगरे पनि यो संकटका बेलामा केवल आडभरोसा मात्रै भए पनि दिओस् भन्ने चाहन्छन् उनीहरू, तर बालुवाटार, बूढानीलकण्ठ, कोटेश्वर र खुमलटारमा भ्याईनभ्याई भएका नेताहरूलाई उनीहरूको दुःख बुझ्ने र महसुस गर्ने फुर्सद कहाँ छ र ?विश्वासको मत नपाएर ओलीको सरकार ढलेपछि राष्ट्रपतिले दिएको बिहीबार राति ९ बजेको समयसीमाभित्र सत्ता कब्जा गर्न नेताहरूको रस्साकसी अन्तिम लडाइँमा विजय प्राप्त गर्नका लागि जस्तै देखिएको छ । प्रधानमन्त्री केपी ओली, नेताहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, उपेन्द्र यादवको बिहीबारको दौडधुपलाई हेर्ने हो भने मुलुकमा राजनीतिबाहेक अन्य समस्याहरू छँदै छैन भनेजस्तै छ ।

पटक–पटकको दौडधुप नेताहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । केपी ओलीलाई सत्ताबाट झारेर देउवालाई प्रधानमन्त्री हुनुपरेको छ भने ओली आफू निरन्तर सत्तामा टिकिरहन आफैले  कारबाही गरेका नेताका कारबाही फिर्ता गरेर वार्तामा बस्नुभएको छ ।राजनीतिमा आपूmलाई अब्बल भएको दाबी गर्ने सबै दलका युवा नेताहरूको पछिल्लो क्रियाकलापले नयाँ पुस्तालाई राजनीतिप्रति घृणा जगाउने काम भइरहेको सर्वसाधारणले बताउन थालेका छन् ।अहिलेको अवस्था को प्रधानमन्त्री बन्ने भन्दा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्ने र अक्सिजन नपाएर अस्पतालको शय्यामा प्राण त्याग्न बाध्य कोरोना संक्रमितलाई कसरी जोगाउने भन्ने विषय दलको मुख्य एजेन्डा बन्नुपर्ने थियो, त्यो हुन सकेको छैन । यस्तै हो भने धिक्कार हामीले कस्तालाई नेता चुनेछौं भन्ने दिन अब टाढा छैन ।