सञ्चारकर्मीलाई ‘वर्क फ्रम होम’

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चारमाध्यमले आफ्नो सञ्चारगृहमा कार्यरत् सञ्चारकर्मीलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन सकभर ‘वर्क फ्रम होम’ को व्यबस्था गर्न आग्रह गरेको छ । यदि त्यसो गर्न नसकिने अबस्थामा स्वास्थ्य मापदण्ड पालना गराउन र स्वास्थ्य सामग्रीको व्यबस्था गर्न पनि महासंघले भनेको छ ।

महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सकभर फोन र सामाजिकसञ्जाल प्रयोग गरी समाचार संकलन गर्न र स्थलगत्रुपमा समाचार संकलनमा जानुपर्दा कोरोना जोखिम न्यूनीकरणका लागि नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई पूर्णपालना गर्न अनुरोध गर्नुभएको हो ।

‘जोखिम मोलेर सञ्चारकर्ममा खटिनुभएका आफ्ना कर्मचारी सञ्चारकर्मीको सेवासुबिधा नियमित उपलब्ध गराउन अनुरोध छ,’ उहाँले भन्नुभएको छ । स्थलगत्रुपमा समाचार संकलनमा जानुपर्दा आफ्नो मिडिया, पेशागत् संगठन वा महासंघले उपलब्ध गराएको प्रेस ज्याकेट लगाउन र मिडिया हाउसले उपलब्ध गराएको परिचय खुल्ने फोटोसहितको प्रेस कार्ड अनिवार्य देखिने गरी लगाउन भनिएको छ ।

जाँचमा खटिएका सुरक्षाकर्मीले रोके आफ्नो परिचय स्पष्टसँग दिन, प्रेस कार्ड देखाउन र यदि समस्या परे पत्रकार महासंघका पदाधिकारीसँग समन्वय गर्न तर जाँचमा खटिएका सुरक्षाकर्मीसँग वादविवाद नगर्न अनुरोध गरिएको छ ।

‘सञ्चारमाध्यमले गैरपत्रकारलाई अनावश्यकढंगबाट प्रेस ज्याकेट र कार्ड उपलब्ध नगराउन र यस्तो कार्ड बोकेको अबस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिए व्यक्ति स्वयम् जिम्मेवार हुनेतर्फ महासंघले सचेत गराएको छ । गैरपत्रकारले प्रेस ज्याकेट र कार्ड प्रयोग गरेको जानकारी भए पत्रकार महासंघ वा सुरक्षाकर्मीलाई जानकारी दिन अध्यक्ष गौतमले आग्रह गर्नुभएको छ ।

मकवानपुरमा हालसम्म नेपाल पत्रकार महासंघका ११ जना सदस्य पत्रकार कोरोना संक्रमित भइ होम आइसोलेसनमा छन् । उनीहरुसँग महासंघ निरन्तर सम्पर्कमा छ । संक्रमितलाई नेपाल पत्रकार महासंघको कार्यसमिति र स्वास्थ्य समितिको टोलीले घरमै पुगेर भेट्नुका साथै स्वास्थ्य र फलफुल लगायतको सामग्री उपलब्ध गराएर स्वास्थ्य अबस्थाबारे जानकारी लिएको छ । हालसम्म उनीहरुको स्वास्थ्य अबस्था सामान्य छ ।

महासंघले संक्रमित पत्रकारका लागि गौरीटारमा रहेको आइसोलेसनमा छुट्टै व्यबस्थाका लागि समन्वय गरेकाले होम आइसोलेसनमा बस्न समस्या भएको अबस्थामा महासंघमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरले मकवानपुर पनि प्रभावित बनेको छ । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि देशका विभिन्न जिल्ला झैं मकवानपुरमा निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमण दिनदिनै बढिरहेको छ ।

मकवानपुरका सञ्चारकर्मी जोखिमका बाबजुद नागरिकलाई सूचना पु \र्‍याउने काममा अहोरात्र खटिनुपरेको छ । जोखिमको अबस्थामा आफ्नो कर्तव्य पूरा गर्न खटिएका सञ्चारकर्मीलाई नेपाल पत्रकार महासंघ मकवानपुरले मास्क, सेनेटाइजर जस्ता स्वास्थ्य सामग्रीको व्यबस्था गरेको छ ।

बढ्दो संक्रमणसँगै अस्पतालमा आईसीयु बेड, भेन्टिलेटर र अक्सिजन अभाव देखिन थालेको छ । यस्तो अबस्थामा स्वास्थ्य पूर्वाधार थप व्यबस्था गरी नागरिकको जीवनरक्षाका लागि जुट्न सम्बन्धित सबै पक्षसँग नेपाल पत्रकार महासंघ मकवानपुरले आग्रह गरेको छ ।