कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

बस्ती नजिकै कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न स्थानीयले अबरोध गरेपछि शव मृतककै घर आँगनमा अन्तिम संस्कार गरिएको छ ।

कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीबासीले सङ्क्रमितको शव बोकेको एम्बुलेन्स बाटैमा रोकेर अवरोध गरेपछि मृतकको शब उनकै जग्गमा व्यवस्थापन गरिएको हो ।

गाउँघरमा सङ्क्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको एम्बुलेन्सलाई सुरक्षाकर्मीले अन्यत्र लगेका थिए । अवरोधका कारण शव बोकेको एम्बुलेन्स पाँच घण्टासम्म सडकमै रोकिएको थियो । उनीहरूले सडकमै ठूल – ठुला ढुङ्गा राखेर अवरोध गरेका थिए ।

घटना विवरण अनुसार कचनकवल गाउँपालिका ७ स्थित बालुवाडी निवासी अन्दाजी ६० वर्षीय सङ्क्रमित पुरुषको मेची कोभिड उपचार केन्द्रमा बुधबार मृत्यु भएको थियो । वैशाख २३ गते सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । मङ्गलबार राती श्वासप्रश्वास समस्या आएपछि गाउँपालिकाकै एम्बुलेन्स चढेर उपचारका लागि मेची अस्पताल गएका थिए । उनको त्यहाँ केही घण्टाभित्रै मृत्यु भएपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले एम्बुलेन्स मार्फत शव कचनकवल ५ स्थित पाठामारीको मेची नदी घाट ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । मेची नदी घाटमा जेसिभीले खाल्टो खने लगतै विरोधमा उत्रिएका स्थानीयवासीले एम्बुलेन्स पुगेपछि झन् चर्को विरोधमा उत्रिएको उहाँले बताउँनुभयो ।

नदी किनारमा शव व्यवस्थापन गर्न नदिने भन्दै आएका स्थानीयले पछि सङ्क्रमितको शव बोकेको एम्बुलेन्स पनि गाउँको बाटोबाट हिडन नदिने भएपछि घटनास्थल घण्टौँ तनावग्रस्त बनेको थियो । त्यसपछि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, जनप्रतिनिधिसहित प्रहरी टोलीका इन्चार्जले समेत सम्झाउँदा गाउँले नमानेपछि समस्या झन् बल्झिँदै गएको स्थानीय रत्नकुमार बुढाथोकीले जानकारी दिनुभयो । स्थानीयको अवरोधपछि नेपाली सेनाको शव व्यवस्थापन टोली एम्बुलेन्समै घण्टौँ रोकिएको थियो । त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर एम्बुलेन्स मृतक व्यक्तिकै घर तर्फ लगेका थिए ।

सङ्क्रमित व्यक्तिको शव उनकै घर आँगनमा दाहसंस्कार गरिएको स्वास्थ्य शाखा प्रमुख यादवले बताउँनुभयो । गाउँपालिकाले पूर्वमा मेची नदी र पश्चिममा बिरीङ् खोला किनारमा सङ्क्रमितको शव व्यवस्थापन गर्ने भनी निर्णय गरिसकेको छ । सोही निर्णय बमोजिम नै शव मेची नदी घाट लगिएपनि स्थानीयको विरोध आएको उहाँको भनाइ छ ।