मकवानपुरमा जेठ १३ सम्म निषेधाज्ञा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरका चार स्थानीय तहमा जारी गरिएको बैशाख ३१ गतेसम्मको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याइएको छ । बुधबार हेटौंडामा बसेको जिल्ला कोभिड व्यबस्थापन केन्द्र (डीसीसीएमसी) के बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउन छलफल गरी प्रस्ताव गरेपछि बिहीबार बसेको बैठकले जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्युदरमा बृद्धि भइरहेकाले संक्रमण फैलन नदिन निषेधाज्ञालाई थप प्रभावकारी बनाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

निषेधाज्ञा थप कडाइका साथ गरिनुका साथै अब हेटौंडामा मर्निङ/इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तु विहान ८ बजेसम्म खुल्ने, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबार खोल्ने, वित्तीय/सहकारी संस्था भने पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

मकवानपुरमा बैशाख २९ गतेसम्म १ हजार ८ सय ३ जना संक्रिय संक्रमित छन् भने दोस्रो लहर सुरु भएदेखि हालसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । दैनिक १ सय भन्दा धेरैमा संक्रमण देखिन थालेपछि केन्द्रले कडाढंगबाट निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको हो ।