ओलीको मनमा राजा महेन्द्र बस्छन् कि महिन्द्र मल्ल ?


यदुप्रसाद भट्ट, काठमाडौं

कोरोना महामारीका कारण आम नागरिकको जीवनको ठेगान नै नभएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव राखेर समयसापेक्ष काम गर्नुभएको छ– जनताको जीवन अस्थायी भएका बेला राजनीतिलाई स्थायी बनाउन मिल्ने कुरा होइन, महामारीसापेक्ष बनाउनकै लागि ओलीले प्रतिनिधिसभामा विश्वासकोे मत मागेर ‘मेरो सरकार पनि अस्थायी छ’ भन्ने प्रमाण दिनुभयो ।
कार्यपालिका सापेक्ष व्यवस्थापिका पनि देखियो । उसले विपक्षमा मत मात्र हालेन, बरु विपक्षमा पनि सरकार बनाउन पुग्ने बहुमत छैन, विकल्प पनि अस्थायी छ भनेर देखाइदियो । यी सबै कार्य कोरोना महामारीका बेला व्यक्तिको जीवनजस्तै अस्थिर रहेको प्रमाण हुन् ।
दर्शनले भन्छ– ‘संसारमा जे छ सबै नाशवान् छ’ । स्थायी केही पनि छैन । नागरिकको जीवन बचाउन प्रधानमन्त्री ओलीको सरकारले समयमै कदम चाल्न सकेन भनेर आलोचना गर्नेहरू अल्पबुद्धि हुन् । राम–सीताको यात्रा, धरहरा उद्घाटनको जमघट, नारायणहिटीअगाडिको भेलालाई दोष दिँदै कोरोना फैलाएको भन्नेहरू गलत छन्, के यी कार्यक्रम नगरेको भए नेपाली नागरिक सधैं बाँचिरहन्थे त ?

वास्तवमा नश्वर जीवनका लागि सबैले जे गर्नुपथ्र्यो, प्रधानमन्त्री ओलीले पनि त्यही गर्नुभयो जो सारै सराहनीय छ । दुई दिनको जीवनमा जे–जति गर्न सकिन्थ्यो, उहाँले गर्नुभयो । हतार–हतार धरहरा बनाएर त्यसको बार्दलीमा जानु आवश्यक थियो । ४ सय वर्षअघि नेपालमा महिन्द्र मल्ल नामका राजा थिए । प्रधानमन्त्री ओली जति वर्ष जेल बस्नुभयो, त्यति नै वर्ष कान्तिपुरका राजा बनेका महिन्द्र मल्ल नौतले दरबारको बार्दलीमा गएर हरेक दिन चारैतिर हेर्थे, सबैको घरमा धूवाँ आएको देखेपछि सबैले खाना खाएछन् भन्ने बुझेर आफू खान्थे । प्रधानमन्त्री ओली पनि धरहराबाट सोही अभ्यास दोहो¥याउन चाहनुहुन्थ्यो । कुन अस्पतालमा बेड खाली छ, अक्सिजन पुगेको छ कि छैन भनेर थाहा पाउन व्यग्र हुनुहुन्थ्यो । विरोधीले बेकारमा तयारै नभएको धरहरा उद्घाटन गरेर कोरोना फैलाएको आरोप लगाए । अबुझहरूसँग के लाग्छ र !पोहोर साल कोरोनाले खासै क्षति गरेन, तर यसपटक भने दिनदिनै दुई सयभन्दा बढी मानिस मर्न थाले भनेर मानिस चिन्ता व्यक्त गरिरहेका छन् । वास्तवमा पोहोर कम क्षति हुनुको पछाडि प्रधानमन्त्री ओलीको ठूलो हात छ । हात छ भन्नुभन्दा पनि मुख छ भन्नुपर्छ । ओलीले मुखले बोल्नुभयो– बेसार, गुर्जो, अदुवा, तातोपानी खानुस्, कोरोना भाग्छ । घाँटीको कारोना त उहाँले तातोपानीले कुल्लै गरेर थुकिदिनुभयो । यसपटक त्यस प्रकारको सुझाव दिन नभ्याएका कारणले मात्र हो, नत्र कोरोना उहिल्यै धराशयी भइसकेको हुने थियो ।

घर–घरमा ग्यासका पाइपलाइन जोड्ने, सिलिन्डर विस्थापित गर्ने उहाँको योजनाबाट आत्तिएकाहरूले उहाँलाई कम सरापेनन् । सरकार चलाउन कुनै बाधा नदिएको भए आज त्यही पाइपबाट अक्सिजन पु-याउन सकिन्थ्यो । खै कुरा बुझेको !रेल र पानीजहाज कुदाउन नदिने त खास गरी माधव नेपाल र झलनाथ खनालहरूकै टोली हो । ओली कुदाउन थाल्नुहुन्छ नेपाल र खनाल रेल र पानीजहाजमा चढेर ब्रेक थिचिहाल्छन् । कम दुःख दिए र प्रधानमन्त्री ओलीलाई उनीहरूले । रेल र पानीजहाज चलेको भए आज कोरोनाको खोप र रेमडेसिभिर, अक्सिजन र अरू ओखतीहरू सरर ल्याउन सकिँदैनथ्यो । बुद्धि भनेको एकथोपा भए पो !ओलीले झलनाथ खनाल फाउन्डेसनलाई ७२ करोड दिनुभयो, तर अहिले आएर रेल र पानीजहाजको ब्रेक नै थिचेको थिच्यै पारे ! सर्पको विषबाट कोरोना मार्ने योजना थियो ओलीको, वृद्धभत्ता ५ हजार रुपियाँ गरेपछि लकडाउनमा घरै बसेर खान काम लाग्छ भन्ने भिजन थियो उहाँमा ।अरू त अरू, सेक्युरिटी प्रिन्टिङ प्रेसबाट कोरोना नसर्ने कागजको प्रयोग गर्दै कोरोनाविरुद्धको जानकारी दिने पर्चा छाप्ने योजना पनि ओलीकै हो । महामारीका बेला थर्मल गनमा कालोबजारी, भ्याक्सिनमा कमिसन खानेलाई जेल हाल्न ठिक्क परेकै बेलामा उहाँलाई विश्वासको मत दिइएन । नेपाल विकास नभएको विपक्षीले गर्दा हो भन्ने प्रमाणित भयो ।

वास्तवमा, ओलीलाई कतिले राजा महेन्द्रजस्ता भने । कसैको कुरा नसुनी एकोहोरो लागिरहने, लोकतन्त्र समाप्त पार्ने भनेर आलोचना गरे । तर, वास्तवमा उहाँ राजा त राजाजस्ता, महेन्द्र नभएर महिन्द्रजस्ता हुनुहुन्छ । राजा महिन्द्र मल्ल जनताका धुरी हेर्न नौतले दरबार चढ्थे, हाम्रा प्रधानमन्त्री ओली धरहरा चढ्नुहुन्छ । वास्तवमा ओली, राजावादी हो, माधव नेपालभन्दा पनि बढी राजावादी ।नेपालले ज्ञानेन्द्रलाई देख्ने गरी दाम राख्नुभयो, ओलीले उनका बाबु महेन्द्रलाई धेरैपटक मनमनै दाम राख्नुभएको छ । मनमा महेन्द्र भएकै कारण बरु उहाँ एमाले फुटाउनुहुन्छ, तर लोकतान्त्रिक अभ्यासको अनुशरण गर्दै उनीहरूको कुरा सुन्नुहुन्न । ओली धरहरा हेर्दा महिन्द्र मल्लजस्ता र बोली र व्यवहार हेर्दा महेन्द्रजस्ता देखिनुहुन्छ । सायद केही समयपछि प्रधानमन्त्रीको कुर्सीमा चाहिँ उहाँ देखिनुहुन्न !