खोपका लागि नेपाली राजदूतले सक्रियता बढाऊन्

नागरिक समाजका अगुवाको सुझाव


कपिल काफ्ले, काठमाडौं

कोरोना भाइरसको महामारीबाट स्थायीरूपले जोगिने एकमात्र उपाय खोप हो भन्ने बुझेपछि पनि खास गरी अमेरिका, चीन, भारतजस्ता सम्भावनाका मुलुकमा राजदूत भएर गएका प्रभावशाली पूर्वमन्त्रीहरुले काम गर्न नसकेको विश्लेषण सम्बन्धित क्षेत्रका विज्ञहरुको छ ।
‘अमेरिकामा अहिले ६ करोड डोज अस्ट्राजेनिका भ्याक्सिन उब्रेर बसेको छ, उनीहरुले पहिला मगाएको यो खोप स्टोरमा थन्किएको छ, उसले आफ्नै खोप विकास गरेका कारण ऊ यो खोप हामीजस्ता गरिब देशलाई दिन चाहन्छ, तर राजदूत युवराज खतिवडाजीको पहल खै ?’ –नागरिक अभियन्ता डा. सुन्दरमणि दीक्षित प्रश्न गर्नुहुन्छ ।

यस्तै, परराष्ट्र सम्बन्ध र कूटनीतिक क्षेत्रमा कलम चलाउने वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी टिप्पणी गर्नुहुन्छ– ‘आजको अवस्थामा छिमेकी चीनका राजदूत महेन्द्रबहादुर पाण्डेले बढी कारगर भूमिका खेल्न सक्ने मैले देखेको छु, पाण्डे पनि पूर्वमन्त्री, चीन छिमेकी र पहिला अनुदानमै ८ लाख मात्रा खोप दिने मुलुक ।’ अधिकारीका विचारमा नेपालले सित्तै माग्न छोडेर किन्ने तत्परता देखायो भने उसले छिमेकी मुलुकलाई अवश्य सघाउनेछ ।निरन्तरको कठोर प्रयासले चीनले आफूलाई कोरोनामुक्त बनाइसकेको अवस्थामा छिमेकीलाई पनि महामारीबाट बाहिर निकाल्नु उसको कर्तव्य हो भन्ने धारणा अधिकारीको छ । ‘भारतबाट अहिले नै बढी सहयोगको अपेक्षा गर्न नसकिएला, ऊ आफैं महामारीको पीडामा छ, तर भुक्तानी भइसकेको १० लाख डोजका लागि राजदूत नीलाम्बर आचार्यले भूमिका खेल्नुपर्छ, उहाँ पनि मन्त्री भइसकेका विज्ञ व्यक्ति हुनुहुन्छ ।’ –उहाँले भन्नुभयो ।

डा. दीक्षित र कूटनीतिक विश्लेषक अधिकारीको एकैविन्दुमा सहमति छ– ‘पीसीआर, मास्क, अक्सिजन, अस्पताल विस्तार आदिमा जति लगानी गर्नुपरेको छ, त्यति लगानी एकैपटक खोपमा लगाउने हो भने दीर्घकालीकरूपमै समस्या समाधान हुन्छ, पटके खर्चमा सदाका लागि विराम लाग्छ ।’डा. दीक्षित अमेरिका, बेलायत र चीनमा रहेका नेपाली राजदूतले आ–आफ्नो सरोकारका मुलुकमा नेपालमा पछिल्लो समय आर्यघाटमा देखिएको शवको भीड, अस्पतालको रुवाबासी र स्वास्थ्य सामग्रीको अभ्यासलाई भिडियो बनाएर देखाउनुपर्ने, स्थानीय मिडिया परिचालन गर्नुपर्ने बताउनुहुन्छ ।‘यस कार्यका लागि खर्च लाग्छ, तर आम नागरिकको जीवन बचाउन यस प्रकारको खर्च स्वाभाविक मात्र होइन अनिवार्य पनि हो’, डा. दीक्षित स्मरण गर्नुहुन्छ– ‘खोप खरिदका लागि पहल गरिहाल भनेर मैले महिनौंअघि भनेको हुँ, तर भारतको सिरम कम्पनीमा भुक्तानी गरिसकेको खोप ल्याउन रोक्न जाने तीन व्यक्तिको योजनालाई समयमै पर्दाफास गर्न पनि राजदूत आचार्य सफल हुनुभएन ।’धेरै ढिला अर्डर गरेका कारण खोप ल्याउन नसकिएको, भुटानलगायतका मुलुकले समयमै भारतबाट खोप किनेर सबै नागरिकलाई खोप लगाउन सकेको उदाहरण दिँदै डा. दीक्षितले भन्नुभयो– ‘अमेरिकामा आज प्रतिष्ठित प्रभावशाली पदमा पुगेका नेपालीले मात्र सहयोग गरे भने पनि त्यहाँको सरकारले अस्ट्राजेनिका उपलब्ध गराउन सक्छ, तर हाम्रा राजदूत खतिवडाजीसँग त्यस्ता व्यक्तिको डाटाबेस नै नहुन सक्छ !’

आजसम्म नेपालमा २७ लाख नेपालीलाई मात्र पुग्ने खोप भित्रिएको छ । भारतबाट २० लाख, चीनबाट ८ लाख र विश्व स्वास्थ्य संगठनबाट ३ लाख ८४ हजार तथा भारतबाटै नेपाली सेनाका लागि १ लाख डोज गरी कुल ३२ लाख ८४ हजार डोज खोप नेपाल भित्रिएको छ । भारतको सिरम कम्पनीलाई भुक्तानी गरिसकेको १० लाख डोज खोप आउँछ भनेर ६५ वर्षमाथिका व्यक्तिलाई एक मात्रा मात्र खोप दिइएको तर सो मात्रा नआएका कारण वयश्कहरुको ठूलो समूह अलमलमा परेको छ ।गत माघ १४ देखि भारतबाट अनुदानमा प्राप्त कोभिड खोप प्रयोग गर्दै आएको नेपालले ६० वर्षभन्दा माथिका करिब २८–२९ लाख जनसंख्यालाई प्राथमिकताका साथ खोप दिने बताएको थियो । तर, खोपमा देखिएको कमिसनको खेलका कारण वयश्कहरुले खोपको मात्रा पूरा गर्न पाएका छैनन् भने मृतकको संख्या दैनिक २ सय २५ सम्म पुग्न थालेको छ । ‘सधैं मगन्ते भएर हुँदैन, छिटोभन्दा छिटो खोप किनौं, जनता बचाऔं । जनता नै नरहे विकास कसका लागि र राजनीति कसमाथि गर्ने ?’ –पत्रकार अधिकारीले प्रश्न गर्नुभयो ।