अक्सिजन छैन, कसरी भर्ना गर्ने बिरामी ?

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काठमाडौको हात्तिवन घर भएकी २४ बर्षिया युवती कोरोना भाईरसका कारण विरामी पर्नु भयो । उहाँमा संक्रमण देखिएको केहि दिनमै ६३ बर्षिया आमालाई पोजेटिभ भयो । धुलिखेल अस्पतालमा आमाको उपचारका क्रममा निधन भयो । छोरी प्रज्ञा निको हुँदै हुनुहुन्थ्यो आमाको निधनको खवरले बेहोस हुनु भयो । उहाँलाई दिनु पर्ने अक्सिजन समेत धुलिखेल अस्पतालमा तत्काल उपलबध हुन सकेन । बेहोस छोरीलाई छाडेर सेनाले आमाको शव काठमाडौ लग्यो । धुलिखेल अस्पतालमा बुधबार दिउसो थानकोटबाट एकजना संक्रमित विरामी आउनु भयो । झण्डै दुई घण्टाको पखाईमा उहाँलाई अस्पतालले अक्सिजनको ब्यवस्थापन गर्न सक्यो । धुलिखेल ११ पातलेखेतका युवालाई अक्सिजनको लेभल घटिसक्दा पनि अस्पतालले अक्सिजन उपलब्ध गराउन सकेन ।

विरामीका आफन्त आफैले अक्सिजनको सिलिण्डर खोजेर अस्पताल पु-याएपछि मात्रै अस्पतालले युवाको अस्पतालको प्राङ्गणमा उपचार शुरु ग-यो । अक्सिजन नभएर विरामीको उपचारमा संकट परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।धुलिखेल अस्पतालमा कोरोना भाईरसका संक्रमितहरुको भिड लाग्न थालेको छ । अस्पतालको ईमरजेन्सि वार्डमा दैनिक १० भन्दा धेरै विरामी संक्रमित आउन थाले पछि स्वास्थ्यकर्मी हैरानीमा परेका छन् । ‘श्वासप्रश्वासमा समस्या देखिएका विरामी ईमरजेन्सिमा आईपुग्नु हुन्छ, तत्काल उपचार शुरु ग-यो, उहाँहरुमा कोरोना भाईरस देखिन्छ’–इमरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘उपचार नगरे भएन गर्न अक्सिजन र बेड छैन । कोरोना पोजेटिभ देखिएका विरामीलाई कोभिड वार्डमा पठाउन समेत सकिएको छैन । पाँचजना विरामी इमरजेन्सि वार्डमै वेडको पखाईमा छन् ।’

एक पछि अर्काे विरामी संक्रमित आउन थाले पछि अस्पतालले आन्तरिक रुपमा ब्यवस्थापन गरेको अक्सिजन त सकिएको छ नै सिलिण्डर समेत खाली भएर विरामी भर्ना गर्न नसकेपछि स्वास्थ्यकर्मी हैरानीमा परेका छन् । ‘इमरेजेन्सीमा आएका विरामीलाई दिने अक्सिजन समेत छैन, भर्ना नलिउँ विरामी अन्तिम अवस्थामा पुग्छन, लिउँ अस्पतालमा अक्सिजन नै नपाई मर्ने भए-अस्पतालका ट्रमा को अर्डिनेटर श्रीजेश पराजुलीले भन्नुभयो–‘वार्डमा आएका दैनिक ७ देखि ११ जना संक्रमित र अन्य विरामीहरुलाई पुग्ने अक्सिजन र बेड मिलाउन कठिन भईसकेको छ ।’

कोरोना भाईरसको दोश्रो संस्करण शुरु भएसँगै बैशाख २८ गते साँझसम्म धुलिखेल अस्पतालमा २ सय ५२ संक्रमित विरामी भर्ना भएका छन् । जस मध्ये २० जनाले ज्यान गुमाएका छन् भने ६४ जना निको भएर घर फर्किएका छन् । १ सय ६८ जना विरामी धुलिखेल अस्पतालमा उपचारार्थ छन् । अस्पतालमा नियमित ओपिडी सेवा संचालन भईरहेको छ । कोभिड संक्रमित विरामीहरुले बेड नपाएर छटपट्टिरहँदा अस्पतालको सबै बेडलाई कोभिडका रुपमा विकास गर्न र ओपिडीमा संलग्न जनशक्तिलाई कोभिडका विरामीका लागि सलग्न गराउन अनुरोध गरेका छन् । काभ्रेमा मंगलबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९८ पुगेको छ । संक्रमणको दोश्रो लहरमा ३४ जनाले ज्यान गुमाईसकेका छन् । होमआईसोलेसनमा रहेका दुईले ज्यान गुमाए ।

धुलिखेल अस्पतालमा जस्तै बनेपाको शिर मेमोरियल अस्पतालमा पनि अक्सिजनको अभावले विरामीको उपचारमा समस्या परेको छ । जिल्लामै अक्सिजन उद्योग भए पनि उपत्यकाका अस्पतालहरुमा समेत अक्सिजन अभाव देखिएकाले जिल्लामा थप संकट उत्पन्न भएको हो ।

शवको चाङ्ग

कोरोना भाईरसको संक्रमणबाट दैनिक विरामीको निधन हुन थालेपछि शवहरुको चाङ्ग लाग्न थालेको छ । नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोलीले हरेक दिन शवहरुलाई पशुपति आर्यघाटमा पु¥याएर फर्कने गरेको छ । दैनिक ४/५ जनाको निधन हुन थालेपछि सेनाले गाडीमा अटेजति शवहरुको चाङ्ग लगाएर एकै पटक राजधानी पु¥याउन थालेको हो । जिल्लामै शव ब्यवस्थापन गर्ने पटक पटक कुरा उठे पनि स्थानीय सरकारहरुले ब्यवस्थापन गर्न सकेका छैनन ।