बेथान्चोकको मदनबासमा सयाैँ परिवार बिरामी

बिरामी भन्छन् – ‘सिटामोल समेत पाएनौँ’, गाउँपालिका भन्छ – ‘स्वास्थ्यकर्मी पठाएर बुझ्दै छाैँ’

266
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बेथान्चोक गाउँपालिका वडा नम्वर ५ मदनबास आसपासका सबै घरमा कोरोनासँग लक्षण मिल्ने विरामीहरु देखिन थालेका छन् । केहि दिन अघि गाउँमा आयोजना गरिएको विवाह भोजमा सहभागि भएका सबै स्थानीयहरु विरामी परेको स्थानीयले बताएका छन् । ‘मदनबासका स्थानीयहरुले गाउँपालिका तथा अन्य सहयोगि संस्थाहरुलाई सिटामोल समेत खान नपाएर मर्ने अवस्थामा पुगेकाले तत्काल उद्धारका लागि आग्रह गरेका पोस्टहरु आउन थालेका छन’–स्थानीय धावा लामाले भन्नुभयो–‘म आफै पनि विरामी भएर सुतिरहेको छु । स्थानीय सरकार भएको अभाष हुन सकेन । गाउँलेहरुले सिटामोल समेत पाएनन ।’ शहरमा कोरोना भाईरसका विरामी बढि रहेको, निधन हुने क्रम तिब्र भएको अवस्थामा ग्रामिण भेगमा निर्धक्क भिडभाड जम्मा गरी पसलहरु संचालन गरिरहेको स्थानीयले बताए ।

भंगाला, मदनबास सबै स्थानमा विरामी भएका छन् । ‘म आफै पनि विरामी भएर अस्पताल एम्बुलेन्समा जाँदैछु’–स्थानीय पाल्चेन लामाले भन्नुभयो–‘गाउँपालिकालाई दुई तिन पटक कोरोना परिक्षणका लागि अनुरोध गरें, उहाँहरुले पहिला तपाई आफै जचाउँनुस तपाईलाई देखियो भने परिवारको परिक्षण गर्न आउँछु भन्नु भयो ।’ केहि दिन देखि गाउँभरी ज्वरोका विरामी बढेको उहाँले बताउनु भयो । भोज तथा शवको अन्त्येष्टीबाट कोरोना भाईरसको संक्रमण फैलियो कि ? भन्ने शंका गरिएको छ ।

स्थानीयहरुले गाउँपालिकाले भिडभाड नियन्त्रण नगरेकाले संक्रमण फैलन थालेको भन्दै गुनासो गरे पछि बेथान्चोक गाउँपालिकाले स्थानीय बजार पसल बन्द गर्ने निर्णय गरेको छ । बजार पसलमा भिडभाड नगर्न र कोरोना भाईरस नियन्त्रणमा सहयोग पु¥याउन गाउँपालिकाले सूचना जारी गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमोद तिमल्सिनाले मदनबासमा ज्वरोका विरामी भएको सूचना नआएको बताउनु भयो । पोजेटिभ देखिएका विरामीहरुको सम्पर्कका आधारमा स्वाब संकलन गरिरहेको उहाँले बताउनु भयो । उक्त गाउँमा विरामीहरु धेरै भएको सूचना पाए लगत्तै स्वास्थ्यकर्मी पठाईएको उहाँले बताउनुभयो ।

मदनबासमा देखिएका विरामीहरुमा कोरोना भाईरससँग मिल्ने लक्षणहरु रहेको स्थानीयले बताएका छन् । ज्वरो आउने, जिउ दुख्ने, रुघा र खोकी लाग्ने, हातखुट्टा करकर खाने जस्ता लक्षण भएका विरामीहरु प्रत्येक घरमा रहेको स्थानीय धावा लामाले बताउनु भयो । उहाँले स्थानीयहरुको अवस्थाका बारेमा स्थानीय स्वास्थ्य चौकीमा जानकारी गराउँदा पनि वास्ता नभएको बताउनु भयो । स्थानीयहरुका अनुसार ब्यक्तिहरु जम्मा भएर २४ सै घण्टा तास खेल्ने, मापसे गर्ने र गराउने काम पनि मदनबासमा भईरहेको छ ।