पार्टीले एक असल र निष्ठावान् नेता चौलागाईँलाई गुमायो : प्रम ओली


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा ९एमाले०का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ उनको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताए ।कोभिड–१९ को संक्रमणले मंगलबार उनको निधन भएको थियो । उनले भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको उल्लेख गरे ।

“एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उनले पु-याउएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा उनले भने । चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षसमेत रहेका थिए ।