कोरोनासँग जुध्न गोल्छा ग्रुपद्वारा एक करोड सहयोग


काठमाडौं, नेस

गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई थप प्रभावकारी बनाउन १ करोड रुपियाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो । गोल्छा गु्रपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडको संख्या बढाउनेलगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ ।प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो–‘अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको छ । यस महामारीको घडीमा हामीले पाटन अस्पताललाई सहयोग गर्न पाउँदा हामी निकै नै खुशी छौं । हामीले कोरोनाको पहिलो लहर र लकडाउनको बेलामा पनि अन्य केही संस्थासँग मिलेर कोरोनाविरुद्ध सहकार्य गरेका थियौं ।

हामीले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरी ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियौं । जुन फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड–१९ का बिरामीको परीक्षणका लागि उपयोग गरिएको थियो । हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने छौं । यो हाम्रो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत थालिएको स्वास्थ्य क्षेत्रसँगको नयाँ साझेदारी हो ।’त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गंगोलले भन्नुभयो–‘गोल्छा गु्रपले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेकोे सहयोग अत्यन्तै समय सापेक्ष भएको छ । यो सहयोगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउनेछ । ’