८० वर्षपछि कुमारीको आसन फेरिँदै


नेपाल समाचारपत्र, ललितपुर

ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिने भएको छ ।हरेक दिन नियमित पूजाका लागि देवी कुमारी विराजमान हुने आसन जीर्ण हुँदै गएकाले फेर्न लागिएको हो । ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको हो । ‘हाल प्रयोगमा ल्याइएको आसन धेरै पुरानो भएको जानकारी प्राप्त भएपछि नयाँ आसन तयार गर्न वडाले अग्रसरता लिएको हो’, वडाअध्यक्ष निर्मलरत्न शाक्यले भन्नुभयो– ‘यस आसनमा कुमारी विराजमान भइरहन आरामदायी सहज हुने विश्वास गरेका छौं ।’

अहिले प्रयोग भइरहेको आसन नेपाल संवत् १०६१ मा हर्खराज वज्राचार्य र उहाँका परिवारले प्रदान गर्नुभएको थियो । नयाँ आसन आउँदो बिहीबार रत्नाकर महाविहार हःख बहाःमा एक धार्मिक पूजाको आयोजना गरी हस्तान्तरण गर्न लागिएको वडा अध्यक्ष शाक्यले बताउनुभयो । वरिष्ठ कलाकार प्रचण्ड शाक्यले तयार गर्नुभएको सुन र चाँदी लेपन गरिएको कलात्मक नयाँ आसनमा हालका कुमारी निहिरा वज्राचार्य विराजमान हुनुहुनेछ ।कुमारी आसन जीवित देवी कुमारी परम्पराको एउटा महत्वपूर्ण प्रतीक हो । जीवित देवी कुमारीको परम्परालाई अन्तर्राष्ट्रिय जगत्मै नेपालकै एउटा पहिचानका रुपमा लिइन्छ । नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ । रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडादशैंको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पूजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गरिन्छ ।

नयाँ आसन हस्तान्तरण गर्न लागिएको खबरले कुमारी परम्पराको सम्मान र त्यस परम्परा निर्वाहमा संलग्न गुठीयार र तिनका परिवारमा गौरव र उत्साहको सञ्चार गरेको कुमारीका पिता निरोज वज्राचार्य बताउनुहुन्छ । आसन हस्तान्तरण गर्ने बेला नेवाः बौद्ध परम्पराअनुसार विहारका आजुहरूबाट संकल्प पूजा र पञ्चोपचार पूजा गर्ने तयारी भइरहेको महाविहारका आजु सिद्धिरत्न वज्राचार्यले जानकारी दिनुभयो । वडा कार्यालयले गत वर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिंह अवतार नाचमा कलाकारलाई नाचमा लगाइने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो ।