निषेधाज्ञाको अवधि १५ दिन थप

पार्टी प्यालेस र होटेलमा विवाह गर्न प्रतिबन्ध


सुनील महर्जन, काठमाडौं

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा तेस्रोपटक फेरि १५ दिनका लागि थप गरिएको छ ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलोपटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको थियो । त्यसपछि दोस्रोपटक एक हप्ता थप गरेर निषेधाज्ञा वैशाख २९ गतेसम्म पु-याइएको थियो ।

यसपटक यसअघिका निषेधाज्ञामा भएका केही बुँदालाई संशोधन गर्दै थप दुई साताका लागि निषेधाज्ञाको अवधि लम्ब्याइएको छ । थप गरिएको पछिल्लो निर्णयमा विवाह तथा भोजलाई भने केही कडाइ गरिएको छ । अब कसैले पनि निषेधाज्ञाको समयमा पार्टी प्यालेस र होटेलमा विवाह गर्न पाउने छैनन् । त्यस्तै, घरभित्र भएको विवाहमा पनि भोजभतेर गर्न पाइने छैन । १० जनाभन्दा बढी मानिस भेला भएर विवाह गरेको पाइएमा कारबाही गरिनेछ । जिल्ला प्रशानस कार्यालय ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत भन्नुहुन्छ– ‘विवाह गर्न पाइन्छ, तर १० जनाभन्दा बढी भेला भएर भोजभतेर गरेर होइन ।’ यसअघि १५ जनासम्म भेला भएर विवाह गर्न दिइएको थियो ।त्यस्तै, तरकारी तथा खाद्यान्नको पसल भने बिहान १० बजेसम्म खुल्न दिइने भएको छ । यसअघिको निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सामग्री खरिदमा भीडभाड बढेकाले किनमेलका लागि १ घण्टा समय थपिएको

हो । तर, खुद्रा रुपमा साइकल तथा गाडालगायतमा राखेर बेचबिखन गर्ने तरकारी तथा फलफूल पसललाई भने रोक लगाइएको छ ।सो बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो ।अत्यावश्यक सेवाबाहेकका गाडी पनि चलाउन रोक लगाइएको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालयले सो निषेधाज्ञाको आदेश जारी गरेको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबारको बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो भने काठमाडौं उपत्यकाभित्रका मेयरहरूले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।