निडर स्वस्थ्यकर्मीलाई सलाम !


कृष्णउदास खनाल, वीरगन्ज

वैशाख महिना अन्तिम हुँदै छ, वीरगन्जमा गर्मी बढ्नुपर्ने हो तर बेला–बेलामा पानी परिरहेका कारण शीतल नै छ । तर, वीरगन्जको माहोल वैशाख लागेपछि भने ज्यादै नराम्रोसँग बिग्रिएको छ । कोरोनाले अस्तव्यस्त बनाउँदै छ वीरगन्जलाई । अनि वीरगन्जको नारायणी अस्पताल मानौं, जहाँ निर्दोष आत्माहरू बिनाकारण मारिँदै छन् । कसैले उनीहरुको चित्कार सुन्दैन । अस्पतालमा डाक्टरदेखि नर्स अहोरात्र खटिएका छन् । तैपनि बचाउन सकिरहेका छैनन् ।

आँखा अगाडि बिरामीको मृत्युवरण गरेको दृश्यले रातमा धेरैपटक डाक्टर सरोजरोशन दास निदाउन सक्नुभएको छैन । नारायणी अस्पतालका कोभिड कोर्डिनेटरसमेत रहनुभएका दास संक्रमितहरुको सेवामा दिनरात नभनी खटिनुभएको छ । आँखाअगाडि हरसम्भव गर्दा समेत बिरामी बचाउन नपाउँदा मुटु कयौंपटक गाँठो परेको उहाँले अनुभव सुनाउनुभयो । मृत्यु कसैको नहोस् तैपनि भर्खरका उमेरमा ब्यक्तिहरुको कोभिडका कारण निधन भएको दृश्यले पटक–पटक उहाँलाई कोभिड केही होइन भन्ने लाग्दैलाग्दैन, बरु सतर्क र सचेत हुनुपर्नेमा उहाँको सुझाव छ ।अर्का डाक्टर निरज सिंहको पनि आँखा नरसाएको क्षण प्रायः कमै हुन्छ । अन्तिम अवस्था भएपछि अस्पतालमा बिरामी ल्याइएका कारण पनि बचाउन कयौं प्रयास गर्दा सफल नभएको उहाँको अनुभव छ । धेरैपटक उहाँको पनि मुटु भक्कानिएको छ ।उसो त वीरगन्ज गएको वर्ष पनि कोरोनाबाट आजित थियो । त्यति बेलादेखि नै संक्रमितको साथमा रहेर उनीहरुको चर्किरहेको घाउमा मलमपट्टी लगाउन सफल भएकी नारायणी अस्पतालकै नर्स अहेमा थापाको पीडा झन् काहालीलाग्दो छ ।

आफ्नै आँखा अगाडि अन्तिम प्रयास गर्दा पनि बचाउन नसक्दा आफ्नै परिवारका सदस्य गुमाएको जस्तो पीडा उहाँलाई हुने गर्दछ । आफू कति बेला संक्रमित हुने हो कुनै ठेकान छैन । उहाँसँगैका केही नर्स संक्रमित भइसकेका छ्रन् । तैपनि सेवा गर्न नछाडेको उहाँले बताउनुभयो । संक्रमितको पीडामा मलम लगाउन पाउदा आफूहरुलाई एकदमै आनन्द आउने भए पनि आँखै अगाडि मृत्युवरणको दृश्यले उहाँलाई सुत्न दिएकै छैन कयौं रात ।

काहालीलाग्दो मृतकको संख्या

वीरगन्जको नारायणी अस्पतालमा पर्सासहित बारा र रौतहट तथा प्रदेश–२ का विभिन्न जिल्लाका संक्रमितहरुलाई उपचारका लागि ल्याउने गरिन्छ । कोरोनाको दोस्रो लहर शुरू भएदेखि वैशाख २७ गते दिउँसोसम्म वीरगन्जको नारायणी अस्पताल र यहाँका अन्य अस्पतालमा गरेर ६७ जनाको मृत्यु भएको तथ्यांक जिल्ला प्रशासन कार्यालय पर्सामा छ ।यहाँ दैनिक नागरिकको मृत्यु भइरहेको छ । कोरोना बढेको भन्दै स्थानीय प्रशासनले गत वैशाख १६ गतेबाट लगाएको निषेधाज्ञा पनि जारी छ । यद्यपि जिल्लामा संक्रमित बढेकोबढ्यै छन् । सोमबार वैशाख २७ गतेसम्म पर्सामा १७ सय सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले बताउनुभयो ।

कोरोनाको यो कहरमा आफ्नो घर–परिवारलाई समेत बिर्सन बाध्य भएर जीवन बचाउन लागिपरेका स्वास्थ्यकर्मीहरु भर्खर सार्वजनिक भएको गीतमा भने झैं ‘बन्दै निडर हरेक प्रहर, गर्दै आफ्नो काम, तिमीलाई हाम्रो सलाम’ भन्दै निको भएका संक्रमितहरुले प्रशंसा गर्ने गरेका छन् ।