नुवाकोट, (नेस)
दिन प्रतिदिन डँढेलोझैं फैलिरहेको कोभिड–१९ को संक्रमणले नागरिकको स्वास्थ्य अवस्था भयावह बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई गम्भीर बन्न नुवाकोट नागरिक समाजले ध्यानाकर्षण गराएको छ । समाजले पहिलो चरणमा कोरोना नियन्त्रण र समाधानका लागि विभिन्न योजनाहरु अघि सार्दै जिल्ला प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
नुवाकोट नागरिक समाजका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीको नेतृत्वमा रहेको समाजको टोलीले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई ९ बुँदे ध्यानाकर्षण पत्रमार्फत सचेत गराएको छ । मंगलबारदेखि लागू हुने गरी वैशाख २७ गतेसम्म एक साताका लागि नुवाकोटमा पनि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेसँगै यसलाई जनस्वास्थ्यको हितमा कडाइका साथ कार्यान्वयन गर्न पत्रमार्फत सुझाव दिइएको छ ।यस्तो निर्णयपछि नुवाकोट नागरिक समाजका अध्यक्ष त्रिपाठी, उपाध्यक्ष वसन्त रिजाल, सचिव सीताराम पौडेल, सहसचिव रामजी भट्ट, कोषाध्यक्ष देवकी नेपाल, सदस्यहरु नवराज कोइराला र भोजबहादुर नेपालीसहितको टोलीले विगतको जस्तो जनतालाई दुःख दिन नभई नागरिकको स्वास्थ्य हितमा निषेधाज्ञाको उचित उपयोग र कार्यान्वयनका लागि ध्यान पु¥याउन प्रमुख जिल्ला अधिकारीलाई सचेतसमेत गराएका छन् ।
बिरामीहरुको उपचारमा जिल्ला अस्पताल अन्य नीजी अस्पताललाई कोरोना संक्रमितको उपचार प्राथमिकतामा राखिनुपर्ने, औषधी, अक्सिजनजस्ता अत्यावश्यक सामग्री जोहो गरिराख्न र महामारीको मौका छोपेर बजारमा खाद्यान्नलगायत दैनिक जनजीवनका अत्यावश्यक उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरी हुन सक्ने, मूल्यवृद्धिदेखि कालोबजारीसम्मका विकृतिलाई नियन्त्रण गर्न अनुगमनको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।तराई क्षेत्र र छिमेकी सीमावर्ती मुलुक भारतबाट आउने मालवाहक तथा अन्य सवारीसाधन स्वास्थ्य सुरक्षाको मापदण्डसमेत पालना नगरी जिल्लाभित्र भित्रिरहेकाले जिल्लामा प्रवेश गर्ने नाकामा कडाइ गर्न समाजले आग्रह गरेको छ ।
प्रतिक्रिया