राष्ट्रपतिद्वारा नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ

तीन दिनभित्र बहुमतसहितको दाबी पेस गर्न आह्वान


काठमाडौं, (नेस)

संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको हो । राष्ट्रपतिले आगामी वैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद्, प्रतिनिधिसभाका सभामुखको पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेस गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेर राष्ट्रपति भण्डारीसँग नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए । त्यसै गरी, सरकारले संसद्को अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बहुमत सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह

विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । सोमबार संसद्मा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले राष्ट्रपतिसँग बहुमतको सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका हुन् ।विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव संसद्बाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपिल गर्दै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई आग्रह गरिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरूको पक्षमा १ सय २६ सांंसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताउनुभयो । उहाँले संविधानको धारा ७२ (२) को अभ्यास नगरी एकपटकै ७६ (३) मा लैजाने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्नुभएको छ ।

२८ एमाले सांसदले दिएनन् ओलीलाई मत

नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएनन् । एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् ।ओलीलाई मत नदिने सांसदहरूमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ तथा रामकुमारी झाँक्री छन् ।त्यसै गरी, अन्यमा गणेश पहाडी, जयकुमार राई, यज्ञराज सुनुवार, नारायण खतिवडा, पवित्रा निरौला खरेल, भवानी खापुङ, दीपकप्रकाश भट्ट, विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, झपट रावल, मेटमणि चौधरी, सरला यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, निरादेवी जैरू, कलिला खातुन र लक्ष्मीकुमार चौधरी रहनुभएका छन् ।सोमबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले आफूहरूको माग सम्बोधन नगरेको भन्दै सामूहिक राजीनामाको तयारीमा रहेको नेपाल समूहले संसद् बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।