ढल्यो कम्युनिस्ट सरकार


मधुसूदन रायमाझी, काठमाडौं

प्रतिनिधिसभामा सोमबार भएको मतदानमा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त हुनुभएको छ । आफ्नै पार्टी एमालेका खनाल–नेपाल समूहले मतदान नगरेपछि उहाँ प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएको हो । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिस्ट पार्टीको सरकार ढलेको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुष्टि गर्नका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ र विपक्षमा १ सय २४ मत परेको थियो । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्ताव पारित हुन हाल कायम रहेको २ सय ७१ सदस्यको बहुमत अर्थात् १ सय ३६ मत आवश्यक पर्छ । मतदानमा २ सय ३२ सांसद सहभागी थिए । तीमध्ये १५ सांसद तटस्थ बसेका थिए । एमालेको नेपाल पक्षका सांसदहरु भने बैठकमा उपस्थित भएनन् ।प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले उक्त प्रयोजनका लागि सोमबार संसद्को विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्ष मण्डल बनाएर सभामुखले १५ मिनेट बैठक स्थगित गर्नुभएको थियो ।

अर्को चरणको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको मन्तव्यपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद प्रेम सुवाल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो । राप्रपाका सांसद राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी हुनुभएको थिएन ।सांसदहरूको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिएसँगै मतदान भएको थियो । मत विभाजनका क्रममा हुन्छ, हुन्न र मत दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था गरिएको थियो ।संवैधानिक व्यवस्थाअनुसार २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २ सय ७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा पर्नुभएको छ, उहाँहरूलाई मत जाहेर गर्ने अधिकार छैन ।

विश्वासको मतको प्रस्तावमा एमालेका १ सय २१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।प्रधानमन्त्री ओलीले संसद्को विश्वास गुमाएसँगै तीन वर्षसम्म चलेको कम्युनिस्ट पार्टीको सरकार ढलेको छ । सरकार गठनका क्रममा माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाइ मतको साथ ओली नेतृत्वको सरकार गठन भएको थियो । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै ओली नेतृत्वको सरकारले दुई तिहाइ बहुमत गुमाएको हो । नेकपाको विभाजनसँगै एमालेभित्रको अन्तरकलहका कारण कम्युनिस्ट पार्टीले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकी तीन वर्षमै सत्ताच्युत हुनुपरेको छ ।सत्तारूढ दल नेकपा एमालेभित्र गत फागुनदेखिको विवाद कायमै छ । खनाल–नेपाल पक्षले सर्वोच्चको आदेशअनुसार पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने माग राख्दै आए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले खनाल–नेपाल पक्षको अनुपस्थितिमा एकलौटी ढंगबाट निर्णय गर्दै अगाडि बढेपछि विवाद चुलिँदै आएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई कारबाही गरेर सरकार जोगाउन जसपा नेपालको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको समर्थन पाउने अपेक्षा गर्नुभएको थियो । तर, अन्तिम अवस्थामा उक्त समूहले पनि तटस्थ बस्ने निर्णय गरेसँग प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएर पदमुक्त हुनुपरेको हो ।ओली पदमुमक्त भएसँगै अब नयाँ सरकार गठनको दौडधुप शुरू भएको छ भने अर्कोतर्फ ओलीले फेरि संसद् विघटन गर्ने या ठूलो दलको हैसियतले आफैं सरकारको दाबी गर्ने आशंका पनि विपक्षी दलका नेताहरूले गरेका छन् । संसद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनः आफू नै प्रधानमन्त्री हुने संकेत गर्नुभएको थियो । मतदानअघि संसद्मा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिए संसद् विघटन नहुने चेतावनीसमेत दिनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख ३० गते अपराह्न १ बजेका लागि राखिएको छ ।