धुलिखेलमा ५० शैय्याको आईसोलेसन, नि:शुल्क एम्बुलेन्स सेवा

28
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिकाले संक्रमितहरुको संख्या थपिदै गए पछि सञ्जिवनी विद्यालयमा ५० शैय्याको आईसोलेसन शुरु गरेको छ भने थप आवश्यकता अनुसार ५० शैयाको विस्तारका लागि तयारी गरेको छ । आईसोलेसनमा आईतबार साँझबाट दुईजना कोरोना संक्रमितलाई सेवा दिन शुरु गरिएको छ ।

‘अघिल्लो वर्षमा भन्दा थप सुविधा सहित आईसोलेसन शुरु गरिएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘अक्सिजन, निशुल्क एम्बुलेन्स सेवा, पिसिआर परिक्षण गर्ने छौं ।’ अस्पतालमा एचडियु, आईसियु र भेन्टिलेटर आवश्यक पर्ने विरामीहरुका लागि सञ्जिवनीमा भएको आईसोलेसनबाट रिफर गरिनेछ । नगरपालिकाले शुरु गरेको आईसोलेसनमा डाक्टर र आवश्यक औषधी सहितको ब्यवस्था गरिएको छ । महिला र पुरुष तथा बालबालिकाहरुका लागि अलग अलग आईसोलेसन कक्ष र शौचालयको ब्यवस्था गरिएको छ । पर्याप्त सुरक्षा अपनाउँदै विरामीहरुको उपचार गर्ने गरी तयारी गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

 

मापदण्ड अनुसारको आईसोलेसन निर्माणका लागि स्वास्थ्यकर्मीहरुले सबै उपाय अपनाएका छन् । ‘धुलिखेल नगर भित्रका नागरिकहरुले कोभिड सक्रमण भए पछि उपचार नपाएर छट्टपट्टिनु नपरोस भन्ने प्रमुख उदेश्य हो’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘दैनिक स्वाव संकलन गरी परिक्षण गर्ने, निशुल्क एम्बुलेन्स पठाएर विरामी ल्याउने र लैजाने कार्य शुरु भैसकेको छ ।’ आईसोलेसनमा कालीजंग गण धुलिखेलले सुरक्षा दिएको छ ।

नगरबासिहरुलाई कोभिड सँग सम्वन्धित समस्या नहोस भन्ने उदेश्यले प्रत्येक वडामा स्वास्थ्यकर्मीहरुको समपर्क नम्वर नागरिकहरुका लागि उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । उपचार नपाएर कोहि नागरिक संकटमा पर्नु नपर्ने गरी तयारी गरेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो । यस अघि पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रुपमा आईसोलेसन शुरु गरेका छन् । आईसोलेसनमा विरामी भर्ना हुने क्रम शुरु भएको छ ।

जिल्लामा रहेका दुई अस्पताल बनेपा र धुलिखेलमा विरामीको चाप बढेको छ । भेन्टिलेटर र आईसियु अभाव भएको विरामीका आफन्तहरुले गुनासो गर्न थालेका छन् । धुलिखेलमा तयार भएको आईसोलेसनको जिल्ला संकट ब्यवस्थापन केन्द्रका पदाधिकारीहरुले अवलोकन गरेका छन् ।

प्रमु्ख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु लगायतले धुलिखेलमा रहेका आईसोलेसनमा विरामीहरुले गुणस्तरीय सेवा पाउने विश्वास ब्यक्त गरेका थिए । बनेपा नगरपालिकाले साता अघि नै शुरु गरेको आईसोलेसनमा १४ जना विरामी छन् । जस मध्ये केहिलाई अक्सिजन उपलब्ध गराईएको छ । काभ्रेको भुम्लु, खानीखोला लगायतका पालिकामा पनि आईसोलेसन संचालन गरिएको छ ।