निषेधाज्ञाबीच सामाजिक सुरक्षाभत्ता


हेटौंडा, (नेस)

मकवानपुरको भीमफेदी गाउँपालिकाले वितरण गरिरहेको सामाजिक सुरक्षाभत्ता वितरण प्रक्रियाको समुचित व्यवस्थापन हुन नसकेको भन्दै सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन् ।

गाउँपालिकामा समेत कोरोना संक्रमण दर वृद्धि भएको अवस्थामा ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिला ठूलो संख्यामा उपस्थित हुँदा बैंकलाई व्यवस्थापन गर्न समस्या रहेको सेञ्चुरी बैंकले बताएको छ । एकैदिन एकै समयमा निषेधाज्ञाबीच दुई वडा (कोगटे–७) र निबुवाटार (वडा–४) को सामाजिक सुरक्षाभत्ता वितरण गर्दा भीड बढेको सेवाग्राहीको भनाइ छ । यातायातसाधन उपलब्ध नहुने र दुःख–कष्ट भोगेर आए पनि बैंकमा व्यवस्थापन नहुँदा र दुरी कायम नहुँदा कोरोना संक्रमण हुने सम्भावना देखिएको छ ।८० वर्षकी वृद्धालाई डोकोमा बोकेर आएका एक सेवाग्राहीले अशक्तका संरक्षकलाई रकम बुझ्न सहजता अपनाउनुपर्ने बताए । तीनपटक बैंकले संरक्षकको सिफारिस ल्याउन अनुरोध गर्दा पनि वडा कार्यालयले सिफारिस नदिँदा समस्या भोग्नुपरेको उनीहरुले बताएका छन् ।

परिवार नै संक्रमित

भीमफेदी गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य प्राविधिकको परिवारमा चार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई साताअघि उनका परिवारसहित तराईमा एक आफन्त को व्रतबन्ध कार्यक्रममा सरिक भएदेखि स्वास्थ्य प्राविधिक परिवारमा विसञ्चो भएको थियो ।आफूलाई विसञ्चो भएको जानकारी नदिई बसेकोमा गाउँपालिका स्वास्थ्य संयोजक, प्राविधिकलगायत वडाध्यक्षबाट सामूहिक दबाबले तीन दिनअघि परीक्षण गरिएको स्वाब नतिजाअनुसार घर–परिवार सबैमा कोरोना पोजेटिभ देखिएको थियोे ।

लामो समयपछि संक्रमितको नतिजा बाहिरिएबाट समुदायका सम्पर्कमा रहेका अन्यले समेत कुनै समस्याको लक्षण भए जानकारी गराउन स्वास्थ्य संयोजक रमनाम थिङले आग्रह गर्नुभएको छ ।