शर्मालाई राष्ट्रिय पत्रकारिता पुरस्कार


काठमाडौं (नेस)

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल सामाचारपत्रकर्मी दुर्गाप्रसाद शर्मालाई २०७७ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पर्वत संवाददाता शर्मालाई १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७ दिइएको हो ।

प्रेस चौतारी नेपालका पूर्वपरिष्ठ उपाध्यक्ष तथा हाल केद्रीय सल्लाहकार सदस्य शर्मा २०५६ देखि नेपाल समाचारपत्र दैनिकमा संवाददाताका रूपमा काम गर्दै आउनुभएको छ ।१ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट २०७६ सालमा इन्द्र बुढा (उजिर मगर), संगीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक र शीतल साहसमेत पुरस्कृत हुनुभएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट संवाददाता शर्मासँगै दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, शूरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् ।

वरिष्ठ पत्रकार सम्मान–२०७६ मरणोप्रान्त स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष–२०७७ का लागि रघु मैनाली र शार्दुल भट्टराईलाई प्रदान गरिएको छ ।पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गर्नुभयो । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

मन्त्रालयले यसअघि पुरस्कार छनोटका लागि सञ्चार मन्त्रालयका सचिब हरिप्रसाद बस्यालको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ पत्रकार तीर्थ कोइराला, सञ्चार मन्त्रालयका सहसचिब शोभाकान्त पौडेल र सञ्चारमन्त्रीका प्रेस विज्ञ राजेन्द्र मानन्धर रहेको छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसमा मन्त्रालयले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।