नयाँदिल्ली र उत्तर प्रदेशमा लकडाउन लम्बियो


मुम्बई, (एजेन्सी)

लगातार दोश्रो दिन अर्थात् आइतबार पनि भारतमा कोभिड–१९ संक्रमणबाट मर्नेको संख्या ४ हजार नाघेको छ । यसैकारण कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि राष्ट्रव्यापी लकडाउनका लागि व्यापक आह्वान हुन थालेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले विगत २४ घन्टाभित्र थप ४ हजार ९२ जनाको ज्यान गएपछि हालसम्म कुल मृतकको संख्या २ लाख ४२ हजार ३ सय ६२ पुगेको छ ।यसैगरी, नयाँ ४ लाख ९ हजार ३ सय जना संक्रमित थपिएपछि कोरोना भाइरस महामारी शुरू भएयताको कुल संक्रमित संख्या २ करोेड २३ लाख पुगेको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर चलिरहेको भारतमा प्रत्येक दिन नयाँ कीर्तिमानसहित मृतकको संख्या बढिरहेको छ । फलस्वरूप अक्सिजन सिलिन्डरको आपँर्ति, अस्पतालमा श्यया, मुर्दाघर र अन्त्येष्टि गर्ने स्थानको अभाव हुँदै गइरहेको छ । तर, स्वास्थ्य विशेषज्ञहरूले मृतकको संख्या अझै बढेर जाने चेतावनी दिएका छन् । परिस्थितिको नाजुकतालाई मध्यनजर राख्दै आइतबार राजधानी नयाँदिल्ली र उत्तर प्रदेशमा लकडाउन र कफ्र्यु आगामी १७ मे सम्मका लागि लम्ब्याइएको छ ।