गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा


विजय नेपाली, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ । ओली पक्षधर मुख्यमन्त्री गुरुङले अविश्वासको पक्षमा मत जाँदा पद गुम्ने भएपछि आइतबार साँझ राजीनामा दिनुभएको हो ।उहाँले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो । राजीनामापश्चात् वक्तव्य जारी गर्दै मुख्यमन्त्री गुरुङले विकास विरोधी अराजनैतिक चलखेलका कारण आफूले काम गर्न नसकेको बताउनुभयो ।

संघीयताको मर्मबमोजिम नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धितर्फ प्रयत्नरत भई आंफ्नो कार्य सञ्चालन गरिरहेकोमा देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलका कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको वक्तव्यमा उल्लेख छ ।यसैबीच मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।प्रदेश प्रमुखको कार्यालयबाट विज्ञप्ति जारी गर्दै ३ दिनभित्रै सरकार गठन हुने भनिएको छ । मुख्यमन्त्रीको राजीनामासँगै सोमबार हुने भनिएको अविश्वास प्रस्तावमाथिको मतदानसमेत निस्क्रिय भएको छ ।६० सिट भएको गण्डकीमा बहुमतका लागि ३१ मत ल्याउनुपर्दछ । गण्डकीमा नेकपा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जनमोर्चा, जसपा २ र १ स्वतन्त्र सिट रहेको छ ।

१० दिने खेलकुदमन्त्री पदमुक्त

गण्डकी प्रदेश खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त हुनुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाएर बनाएको युवा तथा खेलकुद मन्त्रालय पृथ्वी सुब्बा गुरुङको राजीनामा सँगै सकिएको हो ।मनाङ ‘ख’ बाट स्वतन्त्र जित हासिल गर्नुभएको मनाङे नेकपामा प्रवेश गर्नुभएको थियो । नेकपा फुटेपछि गण्डकी प्रदेशमा रहेको ओली गुटका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव आएपछि गण्डकीमा समेत ओली पक्षधर गुरुङको सरकार ढल्ने निश्चित थियो । मनाङका जनताले आफूलाई मुख्यमन्त्रीकै पक्षमा रहन भनेको भन्दै प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्रीको साथ दिनुभएको थियो । साथ दिएसँगै मनाङेलाई नयाँ मन्त्रालय बनाई कार्यभार सम्हाल्न दिइएको थियो । १० दिनअघि वैशाख १६ गते मनाङेले पदभार सम्हाल्नुभएको थियो । पदभार सम्हालेलगत्तै खेलकुदमन्त्री हुनुभएका मनाङेले दुई हप्तामै सरकार ढल्न सक्ने बताउनुभएको थियो । ‘सरकार भनेको कामै छैन दुई हप्तामै जान सक्छ । मेरो सोच के छ भने दुई हप्ता भए पनि दुई÷चार वटा काम गर्ने हो । जो नयाँ मान्छे आउँदा पनि त्यो काम गरोस् न ।’ उहाँलाई मन्त्री बनाउनेले नै राजीनामा दिएपछि काम चलाउ मन्त्रीका रूपमा रहनुभएको छ । यद्यपि उहाँ विपक्षी सरकारमै जाने सम्भावनासमेत रहेको देखिन्छ ।