प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना कम

आज संसद्को विशेष अधिवेशन


मधुसूदन रायमाझी, काठमाडौं

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज संसद्को विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्री ओलीको दल एमालेका १ सय २१ सांसद छन् । विश्वासको मत पाउन १ सय ३६ मत चाहिन्छ ।प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत नपाउने सम्भावना बढेको छ । आफ्नै पार्टीका खनाल–नेपाल समूह सामूहिक राजीनामाको तयारीमा रहेको र जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना कम रहेको हो ।

६१ सांसद भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ भने ४९ सांसद भएको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत नदिने भएको छ । संसद्को अंक गणितमा निर्णायक शक्ति ३२ सांसद भएको जसपा रहेको छ । जसपाको कार्यकारी पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने वा तटस्थ रहन पनि सक्ने गरी निर्णय गरेको छ । जसपाको अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले पनि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने भएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले पार्टीका सांसदहरूले मत हाल्ने र तटस्थ रहन पाउने बताउँदै आफूहरूले भने ओलीको विपक्षमा मतदान गर्ने बताउनुभयो ।भट्टराई यादव समूहमा १६ भन्दा बढी सांसद रहेका छन् । यसअघि जसपाको ठाकुर नेतृत्वको समूहले ओलीलाई समर्थन गर्ने विश्वास दिलाएको थियो । तर, अन्तिम समयमा आएर जसपाका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेटेरै विश्वासको मत दिन नसकिने जानकारी गराउनुभएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले आफूलाई मत नदिए पनि विपक्षी गठबन्धनलाई समर्थन नगर्न आग्रह गर्नुभएको थियो । ओलीले जसपाका ठाकुर पक्षका सांसदहरूलाई तानेर भए पनि विश्वासको मत लिने नीति लिनुभएको थियो । तर, ठाकुर पक्ष पनि पार्टीको पदाधिकारीमा अल्मतमा परेपछि अन्ततः मत नदिने टुंगोमा पुगेको हो । आज हुने मतदानमा प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने अवस्थामा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ ।आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नयाँ सत्ता समीकरणका बारेमा सभापति देउवाले छलफल गर्नुभएको थियो । देउवाले आफ्नो नेतृत्वको सरकार गठनमा सहयोग गर्न उहाँहरूलाई आग्रह गर्नुभएको थियो । जवाफमा अध्यक्ष ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने तर आफूहरू तटस्थ बस्ने जानकारी गराउनुभएको थियो ।

नयाँ सरकार गठनका लागि कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता नेपालबीच समझदारी भइसकेको बताइएको छ । संसद्मा नयाँ सरकार गठनमा प्रधानमन्त्री ओलीको विकल्पमा बहुमत नजुटेको अवस्थामा प्रधानमन्त्री ओलीले पुनः संसद् विघटन गरेर आमनिर्वाचनको घोषणा गर्न सक्नुहुनेछ । प्रधानमन्त्री ओली यसअघि आफूले गरेको संसद् विघटनलाई सही सावित गर्न जसपा ठाकुर नेतृत्वको समूहको साथ लिएर नयाँ सरकार गठन गर्न सक्ने वातावरण बनाएर संसद् विघटन गर्ने रणनीतिमा रहनुभएको बताइएको छ ।

ओलीलाई नेपाल समूहको अन्तिम अल्टिमेटम

नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरूको आइतबार साँझ सिंहदरबारमा बसेको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरूको माग पूरा गर्न सोमबार बिहान ९ बजेसम्मको अन्तिम अल्टिमेटम दिएको छ ।पार्टी ब्युँताउने सर्वोच्च अदालतको फैसलाअनुसार फागुन २८ गतेको निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ मा फर्काएर पुरानै कमिटीलाई ब्युँताउने प्रतिबद्धता जनाउन नेपाल पक्षले अन्तिम अल्टिमेटम दिएको हो । एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष ओली आफूहरूलाई किनारा लगाउने ढंगले अघि बढेमा कठोर निर्णय गरिने चेतावनी दिनुभएको छ । अध्यक्ष ओलीले आफूहरूले उठाएको माग सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने भट्टराईले जानकारी दिनुभयो ।

संसद्को अंक गणित

प्रतिनिधिसभाको कुल सांसद संख्या २ सय ७५ हो । चार जना निलम्वन र पदमुक्त भएको हुँदा अहिले कुल सांसद संख्या २ सय ७१ रहेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत लिन १ सय ३६ सांसद आवश्यक पर्छ । कांग्रेसको ६१, माओवादीको ४९ र जसपाको अध्यक्ष उपेन्द्र यादव समूहको १७ गर्दा जम्मा १ सय २७ संख्या पुग्छ । तर, खनाल–नेपाल पक्षबाट २० सांसदले राजीनामा गरेमा कायम संख्या २ सय ५१ मा झर्छ । त्यसपछि प्रधानमन्त्रीलाई आफ्नो पक्षमा बहुमत सावित गर्न १ सय २६ सांसद आवश्यक हुन्छ ।