पर्वतको कुस्मामा अब विश्वकै पहिलो ‘स्काई चेयर’

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

सहासिक पर्यटनको नयाँ र आकर्षक गन्तब्य बन्दै गएको पर्वतको कुस्मामा अब बिश्वकै पहिलो स्काई चेयर समेत सञ्चालनमा आएको छ ।

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बनेको बिश्वकै दोस्रो अग्लो बन्जी र बिश्वकै अग्लो स्वीङ संगै नयाँ आकर्षणको रुपमा बिश्वकै पहिलो स्काई चेयर सञ्चालनमा आएको हो ।

द क्लिफ प्रालिले बञ्जीको रिर्सोटबाट कालीगण्डकीको खोँचमा स्काईचेयर निर्माण गरेको हो । स्काई चेयर कालीगण्डकी नदीमा पानीको सतह देखि ४ सय४८ मिटर उचाईमा छ । स्काईचेयर सञ्चालनमा आएपछि कालीगण्डकीको कहालिलाग्दो खोँचमाथि आकाशमा कुर्सीमा बसेर पर्यटकले कफी पिउन र ब्रेकफाष्ट खान पाउने छन । ‘बिश्वमा यस्तो प्रकारको स्काईचेयर कहिँ पनि भेटिएको छैन।’

द क्लिफका अध्यक्ष राजु कार्कीले भन्नुभयो‘नदीको खोँचमा आकाशमा बसेर कफी पिउने र ब्रेकफाष्ट गर्न चाहने सहासी पर्यटकका लागि नयाँ सुबिधा थपिएको छ ।’ चेयरमा बसेर कालीगण्डकीको खोँच, धौलागिरी हिमश्रृङ्गखला, बञ्जी र स्विङ्ग गर्दै गरेका दृश्य पनि देख्न सकिने छ ।

यस्ता स्काई चेयर दुबईमा क्रेनले कुर्सी तानेर माथि पु¥याउने खालका छन । त्यस्तो चेयर बनाउन करोडौ लाग्ने र औषत खर्च गर्ने पर्यटकले सुबिधा उपभोग गर्न पनि कठिन हुने भएकाले सस्तो र त्यो भन्दा पनि आकर्षक प्रबिधी प्रयोग गरेर पर्यटकका लागि नयाँ स्वाद पस्किएको कार्कीले बताउनुभयो ।

चेयरमा बसेर ब्रेक फाष्ट गर्न चाहनेले कम्तीमा ३ सय देखि बढीमा ५ सय शुल्क तिर्नुपर्ने हुन्छ । तत्काल यसको मुल्य नतोकिएको र यही परिधिभित्र तोकिने अध्यक्ष कार्कीले बताउनुभयो। उहाँले स्काई चेयरमा बस्ने दुई जनालाई हार्नेसले बाँधेर पुर्णरुपमा सुरक्षित गरिएको पनि बताउनुभयो । ‘दुर्घटनाको कुनै खतरा रहँदैन, सुरक्षाका सबै उपाय अबलम्बन गरेका छौ।’ जमिनमा राखेर कुर्सीमा बसेपछि घुमाएर नदीमाथि लैजाने गरि यसको संरचना तयार भएको छ।

द क्लिफले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङ ब्यबसायिक रुपमा सञ्चालनमा आएपछि देशभरका पर्यटकको आकर्षण बनेको छ । गएको हिउँद र नयाँ बर्षमा कुस्मामा सबैभन्दा बढी आन्तरिक पर्यटक भित्रीएका थिए ।

यो संगै कुस्मामा बिश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन र सिसाको स्काई ब्रिज पनि सञ्चालनको तयारीमा छ । द हार्नेस प्रालिले निर्माण गरेको जीपलाईन, स्काईब्रिज सहितका आकर्षक पर्यटकीय परियोजनापनि दशै अगावै सञ्चालनमा ल्याउने तयारी भैरहेको कम्पनीका प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताउनुभयो । द हार्नेस प्रालिले पनि थप आकर्षक र सहासिक पर्यटकीय खेलहरु भित्र्याउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।