बागमती प्रदेश प्रहरीको मुख्यालय शिलान्यास

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शिलान्यास गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले शनिबार भवन शिलान्यास गर्नुभएको हो ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा भवन निर्माण गर्न लागिएको हो । तीन वर्षमा निर्माणसम्पन्न गर्ने लक्ष्यसाथ ३२ करोड लागत अनुमान गरी उक्त भवन १ हजार ३ सय १८ स्क्वायर मिटर (१४,१८१.६८ वर्गफिट) मा निर्माण हुनेछ । चालु आर्थिक वर्षका लागि उक्त मन्त्रालयबाट ५ करोड निकासा भएकोमा टेण्डर प्रक्रिया सम्पन्न गरी ३ करोड ३ लाख २४ हजार ६ सय रुपियाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

निकट भविष्यमा नेपाल प्रहरी समायोजन भएर प्रदेश प्रहरीका रुपमा रहने भएकाले हालको संरचना अपुग हुने र प्रदेश प्रहरीको प्रधान कार्यालयका रुपमा विकास गर्नुपर्ने भएकोले भवन निर्माण सुरु गरिएको हो ।

बागमती प्रदेश प्रहरी हाल संघीयअन्तर्गत् रहे पनि प्रदेश सरकारले भवन निर्माणलगायत शान्तिसुरक्षासँग सम्बन्धित प्रत्यक्ष सरोकारका विषयमा सहयोग गर्दै आएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यकाबाहेक) अन्तर्गत् ३४ वटा प्रहरी एकाईं निर्माणसम्पन्न भइसकेका छन् ।

१२ वटा प्रहरी एकाईं निर्माणाधीन र चालु आवमा प्रदेश प्रहरी कार्यालयको मुख्यालयसमेत गरी थप २१ वटा प्रहरी एकार्इं निर्माण सम्झौता भएर निर्माण प्रारम्भ भएका छन् । समग्रमा हालसम्म ६७ वटा प्रहरी एकार्इंहरु निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सहयोग प्राप्त भएका छन् ।