भाइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढ्दा समस्या


मिला दरै, तनहुँ

कोरोना बढ्दै गएको अवस्थामा तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा बिरामी वृद्धि भएका छन् । बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी क्लिनिकमा भिडभाड बढेको छ । जिल्लाभर ज्वरो आउने, रूघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी आउने गरेका छन् ।

डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडाजस्ता मुख्य बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामी बढेका हुन् । कोरोना सङ्क्रमण बढिरहेका बेला सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढेको दमौली अस्पताल प्रशासन शाखाका प्रमुख गुरूदक्त घिमिरेले बताउनुभयो । पहिलेभन्दा दोब्बर बढी बिरामी अस्पतालमा आइरहेको घिमिरेले बताउनुभयो । ‘कोरोनाको लक्ष्यणसँग मिल्दो दैनिक १ सय २० देखि १ सय ५० जना बिरामी आउने गरेका छन् यसले गर्दा अस्पतालका चिकित्सकलाई भ्याई-नभ्याई भइरहेको छ ।’ घिमिरे भन्नुभयो ।

सरकारी भन्दा निजी क्लिनिकमा बिरामी धेरै जाने गरेका छन् । पहिलेभन्दा गर्मी बढेसँगै बिरामीको सङ्ख्या धेरै आउने गरेको क्लिनिकको तथ्यांक रहेको छ । दैनिक २ सय भन्दा बढी बिरामी आउने र धेरैजसोमा रूघाखोकी र टाइफाइटको बिरामी रहेको उहाँ बताउनुहुन्छ । बासी सडेगलेका खानेकुरा नखाने, उमालेको पानी पिउने, हरियो सागपात, झोलिलो खानेकुरा प्रशस्त खाने, खानाखाजा खानुअघि साबुनपानी हात धुनुपर्ने दमौली अस्पतालका प्रमुख डा. सुनील पौड्यालको सुझाब छ ।यो बेला मौसम परिवर्तनको बेला भएकाले बिरामी बढेको उहाँ बताउनुहुन्छ । पहिले भन्दा हाल दोब्बर बढी बिरामी उपचारमा आउने गरेको शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जीपी कोइराला श्वास–प्रश्वास उपचार केन्द्रले जनाएको छ ।