बिनाकारण छोरोलाई इन्सुलिन इन्जेक्सन दिने आमा !


सिंगापुर सिटी, (एजेन्सी)

आफ्ना ६ वर्षीय छोरोलाई शान्तिपूर्वक मार्ने उद्देश्यले पटक–पटक इन्सुलिनको इन्जेक्सन दिने आमालाई सिंगापुरको एक अदालतले पाँच वर्ष लामो कारावास संजाय सुनाएको छ । मन्चौसेन सिन्ड्रोम बाई प्रोक्सिबाट पीडित नाम नखुलाइएका ती २९ वर्षीया महिलाले आवश्यक नपरे पनि छोरालाई इन्सुलिनको खोप दिने गरेको अनुसन्धानबाट खुल्न आएको थियो । मन्चौसेन सिन्ड्रोम बाई प्रोक्सी एक प्रकारको मानसिक रोग हो । यसका रोगीले आफ्नो स्याहारमा रहेका व्यक्तिलाई बिरामी पार्ने काम गर्छन् ।

प्रहरीले अदालतमा पेस गरेको कानुनी दस्तावेजमा ती महिलाले सन् २०१९ को सात महिनाभित्र कम्तिमा १३ पटक छोरोलाई इन्सुलिनको खोप दिएको तथा पटक–पटक छोरालाई अस्पतालमा भर्ना गरेको तथ्य उल्लेखित छ । उनले आफ्नो छोरोलाई बिरामी जस्तै देखाएर सबैका ध्यान आफूतिर आकर्षित गर्ने उद्देश्यले यस्तो व्यवहार गरेको बताइएको छ ।अन्य दुईजना छोरीसमेत भएकी ती महिलाले छोरोको शरीरमा रोगको लक्षण देखाउने विचारले उनलाई शारीरिक चोटपटकसमेत पु¥याउने गरेकी थिइन् । त्यसो गर्नुको पछाडि उनको उद्देश्य आफूले छोरोलाई कति धेरै स्याहारेको छु भन्ने देखाई अरूबाट सहानूभूति र स्नेह बटुल्नु पनि रहेको अनुसन्धानबाट खुलेको छ । उनले आफ्नो नाबालक छोरोलाई आफूलाई बाल्यकालमा बलात्कार गर्ने आफ्नै दाजुको स्वरूप देखेर घृणा पनि गर्ने गरेकी थिइन् ।

डिप्रेसनको समेत शिकार भएकी उनले आफ्नो छोरोलाई एकपटक त विषसमेत सेवन गराएकी थिइन् । उनको छोरो अहिले नौ वर्षको भइसकेको छ । ती महिलालाई ९ देखि १२ वर्षको उमेरमा दाजुले बलात्कार गरेका थिए । उनले अनलाइनमार्फत इन्सुलिनका अत्यधिक प्रयोगबाट मानिस अचेत अवस्थामा पुग्ने जानकारी हासिल गरेकी थिइन् । उनले सन् २०१९ को सेप्टेम्बरमा आफूलाई बलात्कार गर्ने दाजु र उनका तीन सन्तानलगायत आफ्नै आमालाई आगो लगाएर मार्ने निर्णय पनि गरेको बताइएको छ ।