मालीकी एक महिलाले जन्माइन् एकै बेतमा नौ शिशु


रावात, (एजेन्सी)

मालीकी एक महिलाले एकै बेतमा नौ जना शिशुलाई जन्म दिएकी छन् । ‘हालिमा सिस्से’ नामक ती महिलाले मोरोक्कोको एउटा अस्पतालमा तिनीहरूलाई जन्म दिएकी हुन् । विशेष स्याहार तथा उपचारका लागि मालीको सरकारले उनलाई मोरोक्को पु-याएको हो ।
उनका पतिले बीबीसीलाई बताएका छन्– ‘मेरी पत्नी र मेरो भर्खर जन्मेका पाँच छोरी र चारजना छोराको हालत निकै स्वस्थ र सन्तोषजनक रहकाले म निकै खुसी छु ।

’ यसअघि, सन् २००९ मा अमेरिकामा एकजना महिलाले एकै पटक आठ जना शिशुलाई जिवित अवस्थामा जन्म दिएर गिनिज वल्र्ड रेकर्ड राख्न सफल भएकी थिइन् । यसअघि, पनि सन् १९७१ एकजना महिले अस्ट्रेलियामा र सन् १९९९ मा मलेसियामा अर्की एक महिलाले यसरी नै ९ जना शिशुलाई जन्म दिएका थिए ।

तर ती महिलाले जन्माएका ती शिशुमध्ये कोही पनि केही दिनभन्दा बढी जीवित रहेका थिएनन् । आठजना शिशु जन्माएर विश्व कीर्तिमान राख्न सफल ‘नाद्या सुलेमान’का बच्चाहरू अहिले १२ वर्षको भइसकेका छन् । उनले भिट्रो फर्टिलाइजेसन प्रक्रियाबाट तिनीहरूलाई जन्म दिएकी थिइन् ।मालीका स्वास्थ्यमन्त्रीले यस सुखद समाचारलाई लिएर माली र मोरोक्कोका मेडिकल टिमलाई बधाई दिएका छन् । यी शिशुहरूको वजन ५ सय ग्रामदेखि १ केजी रहेकाले तिनीहरू सबैलाई दुईदेखि तीन महिनासम्म इन्क्युवेटरमा राखिने भएको छ ।