काभ्रेका अस्पतालमा ‘आईसियु र भेन्टिलेटर’ अभाव, अस्पताल भन्छ -‘आईसियु खोज्नुस्, विरामी लैजानुस्’

14
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेमा रहेका दुईवटा अस्पतालमा कोरोना संक्तमित विरामीहरुका लागि आईसियु र भेन्टिलेटर अभाव भएको छ । निमोनिया सहित अक्सिजनको मात्रा कम हुँदै गएका विरामीहरुका लागि आईसियु बेड आवश्यक भए पनि उपलब्ध हुन सकेको छैन ।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीहरुलाई अस्पताल आफैले आईसियु खोजेर विरामी लैजानु भन्न थालेको विरामीका आफन्तले बताए । ‘संक्रमण भई अक्सिजनको मात्रा घट्दै गए पछि विरामीलाई बनेपाको शिर मेमोरियल अस्पतालमा भर्ना गरियो, विहिबार रातिबाट निमोनिया सहित संक्रमण बढेपछि आईसियुमा राख्नु पर्ने भए पनि सम्भव भएको छैन, अस्पतालमा आईसियु खोजेर विरामी लैजानु भन्छ, धेरै अस्पताल र आफन्त मार्फत प्रयास गरियो सम्भव भएन’–विरामीका आफन्तले भने–‘अब भगवान भरोसा ।’ शिर मेमोरियल अस्पतालमा रहेका आईसियु र भेन्टिलेटर भरिएका छन् ।

कोरोना संक्रमितहरुका लागि अस्पतालले २० शैया ब्यवस्थापन गरेको छ । यसको अलावा नियमित विरामीको उपचार सेवा उपलब्ध गराईरहेको अस्पतालले जानकारी दिएको छ । धुलिखेल अस्पतालले कोरोना संक्रमितहरुका लागि ६२ शैया पु-याएको छ ।

एक सय शैयासम्म पु-याउने लक्ष्य भए पनि अस्पतालले विहिबार साँझसम्म ६२ शैयामा विरामी भर्ना गरेको छ । नेपालगञ्ज, दाङ, जनकपुर, धनगढी देखिका संक्रमित विरामीहरु धुलिखेल अस्पतालमा भर्ना भएका छन् भने नियमित उपचारका लागि अस्पताल भर्ना भएका विरामीहरु पनि संक्रमित भएका छन् ।

अस्पतालमा भएका आईसियु, भेन्टिलेटर भरिएका छन् । आईसियु र भेन्टिलेटेर चाहिने विरामीलाई धुलिखेल अस्पतालले थप सेवा दिन सम्भव छैन । ‘अस्पतालको इमरजेन्सिमा दैनिक ४/५ जना संक्रमित विरामीहरु आउन थालेका छन्’–इमरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘उनिहरुका लागि समेत बेड मिलाउन सकिएको छैन ।’ एकै दिन पाँच जना संक्रमितहरुको निधन हुँदाका विदारक घटना सम्झँदै उपचारमा सक्रिय भए पनि पर्याप्त पूर्वाधार नभएकाले सम्भव नभएको उहाँको अनुभव छ ।
धुलिखेल अस्पतालले अक्सिजन सहितका शैयाहरु तयार गरेको भए पनि विरामीहरुलाई चाहिने आईसियु र भेल्टिलेटर उपलब्ध गराउन सकेको छैन ।

विरामी भरिएर धुलिखेल अस्पतालको इमरजेन्सि विभागको भिजिटर कक्ष र बाहिरै पनि भर्ना गर्न थालिएको छ । अघिल्लो वर्षको विपदबाट समेत तीन तहकै सरकार र नागरिकहरुले पाठ सिकेका छैनन । ‘विपद पछिका सम्भावित जोखिमहरुलाई प्राथमिकतामा पारेको देखिएन’–डा सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘मुल समस्या के हो ? ठम्याउन नसकेको हो कि ? जबजब संकटमा पर्छाै तब तब मात्रै हाम्रो ध्यान स्वास्थ्य क्षेत्रमा गएको देखिन्छ ।’ एम्बुलेन्सको ब्यवस्थापनका लागि लामो समय देखिको समस्या समाधानको प्रयास शुरु गरिएको उहाँले बताउनु भयो ।

कोभिडको दोश्रो चरणको संक्रमणबाट दीर्घरोगी, जेष्ठ नागरिकहरुसँगै युवाहरु पनि प्रभावित बनेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । जिल्लामा संक्रमितहरुको उपचारका लागि अस्पताल र स्थानीय सरकारहरुको प्रयास भईरहेको उहाँले बताउनु भयो । विहिबार साँझसम्म जिल्लामा सक्रिय संक्रमितको संंख्या ९ सय १ पुगेको छ ।