कम्युनिष्टको सरकार नेतृत्व गर्न सक्षम छैन: गोपालमान श्रेष्ठ


भूपराज बस्याल, काठमाडौ

कोरोना महामारीको समयमा जनताप्रति उत्तरदायी हुनुपर्ने सरकार टिकाउ खेलमा मात्रै अहिलेको सरकार लागेको हुँदा कम्युनिष्टको नेतृत्वको सरकार अक्षम भएको आरोप नेपाली कांग्रेसले लगाएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलिले पाटी सभापतिलाई भेटेको दोस्रो दिन बिहिवार एक प्रेस विज्ञप्ति निकाल्दै संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले यस्तो आरोप लगाउनु भएको हो । प्रेस विज्ञप्तिमा भनिएको छ आइसोलेशन सेन्टर, क्वारेन्टइन र होल्डिङ सेन्टरको निर्माणका साथै सङ्क्रमितहरूको उपचारका लागि आवश्यक अस्पताल ‘बेड’, आइसीयू बेड, भेन्टिलेटरलगायत स्वास्थ्य पूर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न सरकारले ध्यान केन्द्रित पर्छ ।

कोरोना महामारीको मौका छोपेर बजारमा आवश्यक वस्तुको अभाव सिर्जना हुन नदिन तथा मूल्यवृद्धि रोक्न र कालोबजारी नियन्त्रणमा लाग्न सरकारलाई सुझाउँदै उक्त पार्टीले भारतसँग सिमाना जोडिएका नाकामा ‘हेल्थ डेस्क’ स्थापना, कोरोनाको ‘एन्टिजेन’ परीक्षण तथा ‘कन्टयाक्ट ट्रेसिङ’ मा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

स्थानीय तह र प्रदेशसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल बेड, आइसीयु बेड, आइसोलेशन केन्द्र, क्वारेन्टिन र होडिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्नका साथै केन्द्र तथा प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई नन्कोभिड अस्पतालका रूपमा विकसित गरी आवश्यक बेड, आइसीयू बेड र भेन्टिलेटरको सङ्ख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना, कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधिको यथोचित प्रबन्ध गर्न विज्ञप्ति मार्फत सरकारलाई भनिएको छ ।

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन यथाशीघ्र सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा आवश्यक चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन, अग्रपङ्तिमा रहेर संक्रमिततको उपचार र व्यवस्थापनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीसहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीको बीमा तथा जोखिम भत्ताको व्यवस्था तत्काल गर्न पनि उल्लेख गरिएको छ । निषेधाज्ञाका कारण रोजगारी गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीले भोग्नुपरेको पीडालाई दृष्टिगत गर्दै आवश्यक राहतको ‘प्याकेज’ यथाशीघ्र ल्याउन माग गर्दै नेपाली काँग्रेसले पार्टी सम्बद्ध सबै तह र तप्काका कार्यकर्तालाई सङ्क्रमितको पहिचान, उपचार र व्यवस्थापनमा खटिन आह्वान पनि गरेको छ ।