निषेधाज्ञा अटेरीलाई सडकमै उठबस


मोतीराम तिमल्सिना, काभ्रे

कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गर्ने सर्वसाधारणलाई प्रहरीले सडकमै उठबस गराएको छ । केही समय होल्डिङ गराई उठबसपछि छाडिदिएको छ । जिल्लामा दैनिक संक्रमितहरु १ सय ५० भन्दा धेरै हुन थालेका छन् । बुधबार १ सय ५८ र बिहीबार १ सय ६५ संक्रमित थपिएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय १ पुगेको छ ।

बनेपा नगरपालिकाको चारदोबाटो चोकमा विभिन्न कारण देखाउँदै सडकमा नियमित आवत–जावत गर्नेहरुलाई निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा नियन्त्रणमा लिई होल्डिङ गराई उठबसपछि छाडिदिएको हो । प्रहरीले निषेधाज्ञालाई कडाइका साथ पालना गराउन तोकिएको समयभन्दा बाहेक पसल खोल्ने व्यवसायीलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ । व्यवसायीहरु २४सै घण्टा पसल खोलेर बसेपछि पसल आउने र जाने क्रममा नागरिक नियन्त्रणमा पर्न थालेका छन् । प्रशासनले बैंक, सहकारी तथा अन्य वित्तीय संस्थाको सेवा बन्द नगरेकाले वित्तीय कारोवारका लागि जाने कर्मचारी तथा सेवाग्राही दैनिक सडकमा निस्कँदा भीडभाडकै कारण संक्रमण फैलने आशंका स्थानीयले गरेका छन् ।बनेपामा बुधबार साँझसम्म ३ सयभन्दा धेरै सक्रिय संक्रमितको संख्या छ । एकै दिन स्वतफूर्तरूपमा स्वाब दिएर परीक्षण गरिएका संक्रमितको संख्या झन्डै एक सय नजिक पुगेको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज, ट्राफिक प्रहरी कार्यालयका केही प्रहरीहरु, स्वास्थ्य शाखाका कर्मचारी, व्यवसायीहरु संक्रमित भइसकेका छन् । बनेपामा बुधबार ८५ जना र बिहीबार ६४ नयाँ संक्रमित थपिएका छन् ।

बनेपापछि सक्रिय संक्रमितको संख्या पनौतीमा धेरै छ । पनौतीमा १ सय ८८ संक्रिय संक्रमित रहेका छन् भने धुलिखेलमा १ सय ८३ रहेका छन् । पनौतीमा बिहीबार मात्रै ४३ नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले निषेधाज्ञाको चौथो दिन पनि संक्रमितको सख्या बढिरहेको बताउनुभयो । बनेपा, पनौती, धुलिखेल र पाँचखालमा सक्रिय संक्रमितहरु बढिरहेकाले संक्रमणको दर अझै बढ्न सक्ने विश्लेषण गरिएको डा. झाले बताउनुभयो । भाइरसको दोस्रो संस्करणका कारण सात दिनमा १८ जनाले काभ्रेपलाञ्चोक जिल्लामा ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ ।