महामारी रोक्न राष्ट्रिय अभियान


डा. दीर्घसिंह बम

कोरोना महामारीले एकैदिन ५८ जनाको ज्यान लिएको सरकारी तथ्यांक देखेर डराउने नेपालीलाई मैले आधा शताब्दी लामो स्वास्थ्य क्षेत्रको अनुभवलाई साक्षी राखेर दुःखका साथ निवेदन गर्नैपर्छ, अहिलेकै अवस्थामा यो अंक घट्दैन, बरु बढ्छ । योभन्दा भयानक जनधनको क्षतिको सम्भावना देख्छु म ।

मैले यसो भनिरहँदा सरकारले त्रास बढाएको भनेर आचारसंहिताको डण्डा लगाउन सक्छ । तर, एक डाक्टरको पहिलो आचार भनेको वास्तविकता बाहिर ल्याउनु हो । वास्तविकता के हो भने, ३ हजारभन्दा बढी नागरिकले कोरोनाकै कारण जीवन आहुति दिएपछि र लाखौंले संक्रमणको पीडा भोगिसकेपछि पनि हामीले कोरोना महामारी विश्लेषण गर्न सकिरहेका छैनौं । आज कोरोना समुदायस्तरमा पुगेको छ, घर–घरमा फैलिइसकेको छ । यति त हामी सबैले थाहा पाइसक्यौं कि कोरोना भाइरसले खास ठाउँको वातावरण, तापक्रम, मौसम र व्यवहार हेरेर आफूलाई परिवर्तन गर्दै जान्छ । यतिखेरसम्म हामीले तराई–मधेस, पहाड र हिमाली क्षेत्रमा कोरोना भाइरसको आक्रमण कुन रूपको छ भनेर अध्ययन गरिसकेको हुनुपथ्र्यो, त्यसअनुसार उपचारात्मक अभ्यास थालिसकेको हुनुपथ्र्यो । तर, त्यस्तो केही पनि भएको छैन । हामी ‘देखाजायगाको मानसिकताका साथ अटेरी बनेर हिँडिरहेका छौं । यस्तो अवस्थामा भयानक जनधनको क्षति स्वाभाविक हुन्छ ।

माइतीघर मण्डला, बालुवाटारस्थित प्रधानमन्त्रीको आवास क्षेत्र र यस्तै आन्दोलनकारीले रुचाएका क्षेत्रहरु कोरोनामुक्त ठाउँ होइनन् । त्यहाँ पनि कोरोनाको संक्रमण सम्भव छ । मानव जीवन रहे राजनीति भनेको पछि पनि गर्न सकिने विषय हो भनेर सत्ताधारी र विरोधी दलका नेताहरुले विश्वास गरेनन् । मानौं, ढिला गरी राजनीति गरियो भने राजनीति गर्नका लागि जनता नै बाँकी रहँदैनन् जस्तो गरेर वर्तमान र पूर्वप्रधानमन्त्रीसमेत भइसकेका नेताहरु सडकमा उत्रिए । केही साताअधि मात्र पनि नेताहरुले जनताको भीड जम्मा गरेकै हुन् । त्यसले कोरोना घटाएन, बढायो मात्र । आज त्यस्ता भेलामा सरिक भएका संक्रमित कार्यकर्ताले कतिसँग ‘कन्ट्याक्ट’ गरे, संक्रमण कहाँ–कहाँ पु¥याए, कुनै अभिलेख छैन । ‘कन्ट्याक्ट ट्रेसिङ’ अब सम्भव छैन । यस्तो अवस्थामा अकाल मृत्युको अंक नबढ्ने कुरै भएन ।
विश्वमा यस्तो महामारी आज मात्र देखा परेको होइन । दोस्रो विश्वयुद्धअघि पनि सार्स, ब्लडफ्लु आदि महामारीका रूपमा देखिएका हुन् । ती सबैको अध्ययन गर्दा, मानव शरीरमा रहेर एक–आपसमा सर्ने कोरोना भाइरसलाई हामीले यति ‘अन्डरइस्टिमेट’ गर्नु भयानक भूल थियो । छिमेकी चीन, महाशक्ति अमेरिका, विकसित युरोपेली मुलुक, अस्ट्रेलिया आदिले कति समर्पित र केन्द्रित भएर यस भाइरसको नियन्त्रणका लागि काम गरिरहेका छन् भन्ने पनि हामीले ख्याल गरेनौं ।

अस्ट्रेलियाले आज भारतबाट आफ्नै मुलुक प्रवेश गर्ने अस्ट्रेलियालीलाई रोकेको मात्र छैन, लामो समय जेल हाल्ने घोषणा गरेको छ । कति मुलुकमा मास्क नलगाई बजार निस्कने अधिकारीहरुको जागिर गएको छ भने कति आर्थिक जरिवानामा परेका छन् । तर, हामीकहाँ न त सरकार न त जनता, दुवैले कोरोना महामारीलाई गन्दै गनेनौं । सरकार कोरोना महामारीका बेला पनि राजनीति गर्ने, जनता मास्कसम्म लगाएर नहिँड्ने, यत्रो क्षति हुँदा पनि मास्कविनाका मानव झुण्ड बस्ती र टोल–टोलमा देखिन्छन् । यस्तो अवस्थामा कोरोनाले जन–धनको ठूलो क्षति नगरे के गर्छ ?हामीकहाँ कोरोनामाथि राजनीति भयो । मैले स्वास्थ्य मन्त्रालयमा प्रशासनिक नेतृत्व लिएर काम गरेको, सार्क क्षयरोग फोरमको अगुवाइ गरेको अनुभवका आधारमा भन्नुपर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय पहलमा नेपाल चुक्यो । स्वास्थ्य मन्त्रालय नै मुलुकको यस्तो निकाय हो जसका वडास्तरसम्म एकाइहरु छन्, कार्यालय सञ्चालनमा छन् । तर, ती कार्यालयलाई सक्षम र सक्रिय गराउन विगत दुई वर्षमा कुनै काम भएन । यदि काम बाँडेर गर्न–गराउन सकेको भए स्वास्थ्य मन्त्रालयका तल्ला निकायहरु पनि सक्षम हुन्थे र कोभिड–१९ स्थानीयस्तरमै नियन्त्रण पनि हुन्थ्यो । बनिबनाउ संरचनालाई बिर्सेर नयाँ संरचना बनाउने भन्दै राजनीति गरियो ।

वडा स्वास्थ्य कार्यालयमा भेन्टिलेटर सुविधा नहोला तर एक स्तरको स्वास्थ्य सेवा दिन सकिन्थ्यो, उनीहरु आफ्नो क्षेत्रका कति कोभिड संक्रमित छन्, कहाँ कस्तो अवस्थामा छन् भनेर अभिलेख बनाइरहेका हुन्थे । अहिले त निस्पट्ट अन्धकार छ, कुन घरमा कोरोना संक्रमित छ, उसको अवस्था कस्तो छ, कसैलाई थाहा छैन । यस्तोमा मृत्युको संख्या नबढे के बढ्छ ?यस महामारीको समाधानका लागि आजै थालिहाल्नपुर्ने केही काम देख्छु । संघीय लोकतान्त्रिक गणतन्त्रको यस मुलुकमा राजनीतिक र प्रशासनिक संगठनको विस्तार स्थानीय वडा र टोल–टोलसम्म भएको छ । जसरी राष्ट्रिय निर्वाचनका बेला नेता तथा उम्मेदवारहरु मतदातालाई डोकामा बोकेर हुन्छ कि काँधमा हालेर हुन्छ, मतदान केन्द्रसम्म पु-याउँछन्, त्यसरी नै र त्यही तत्परताका साथ सरकारी र दलीय संयन्त्र सक्रिय हुनुपर्छ । कोरोना संक्रमित जहाँ भए पनि कुनै वडा र टोलमै छन्, त्यहीं आइसोलेसन र उपचारको व्यवस्था मिलाउनुपर्छ । यसका लागि राष्ट्रिय घोषणा र तत्परताको खाँचो छ । यसो गर्न सकियो भने मात्र भोलिको भयानक अवस्थाबाट मुलुकलाई केही हदसम्म जोगाउन सकिन्छ ।

छिमेकी भारतबाट आउने नेपाली वा अन्य नागरिकको व्यवस्थापन अत्यन्त आवश्यक छ । जहाँसुकैबाट जसरी पनि आउने र विनाअभिलेख जहाँ पनि जाने अवस्थाका कारण कोरोना फैलिन सघाउ पुगेको छ । बेलामै यस विषयमा ध्यान नदिएकाले आज कोभिडले महामारीको रूप लिएको हो भनेर स्वीकार गर्नैपर्छ, यस त्रुटिलाई तत्काल सच्याउनुपर्छ । हाम्रो मूल त्रुटि र कमजोरी व्यवस्थापन पक्षमै हो, देशव्यापी अभियानका साथ समर्पित भएर नियन्त्रणका उपायमा लाग्ने हो भने दुई–तीन सातामा कोरानालाई परास्त्र गर्न सकिन्छ । ढिला नगरौं !

(प्रस्तुति: कपिल काफ्ले)