चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकले दिए राजीनामा

0
Shares

भादगाउँ । चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन ९मेस० सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शैय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।

कोरोना महामारीका बेला चिकित्सकलाई राजीनामा नगर्न आग्रह गर्दा पनि तीनै जनाले राजीनामा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । चिकित्सकहरूले राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । “डाक्टरहरूले राजीनामा दिएका छन् । हामीले उनीहरूलाई यो समयमा राजीनामा दिनु ठिक हैन भन्दै आएका छौँ । राजीनामा स्वीकृत पनि गरिएको छैन”, उहाँले भन्नुभयो ।

मेसु दासले आत्मसम्मानको लागि राजीनामा दिएको बताउनुभयो । उहाँले अस्पतालमा स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नभएकाले बाध्य भएर राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा स्वतन्त्रपुर्वक काम गर्ने वातावरण छैन । चौतर्फी दबाव आउँछ । निर्णय गर्ने कुनै अधिकार दिएको थिएन । त्यसैले राजीनामा दिएका हौँ ।” करारका चिकित्सक भन्दै अस्पतालका कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरूले पेल्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

नगरपालिकाले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णयसँगै नगरपालिका र चिकित्सकबीच सेवा सुविधाको विषयमा मतभेद उत्पन्न भएको थियो । चिकित्सकले कोभिडको उपचारको क्रममा करारमा उल्लेख गरिएको भन्दा थप सेवा सुविधा हुनुपर्ने माग गरेका थिए । सो विषयमा पटकपटक छलफल हुँदा नगरपालिकाले नेपाल सरकारले तोकेको सेवा सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा चिकित्सकले असहमति जनाउँदैँ त्यसभन्दा थप सेवा सुविधा माग गरेका थिए । चिकित्सकको मागका विषयमा बुधबार साँझसम्म नगरपालिकामा छलफल भएको थियो ।

स्वास्थ्य सामग्री सहयोग

नेपाल तरुण दल भक्तपुरले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भक्तपुरको सल्लाघारीमा आयोजित संक्षिप्त कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र तरुण दलका अध्यक्ष राजु थापाले महासङ्घ अध्यक्ष जगत प्रजापतिलाई सो सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा सभापति थापाले कोरोना सङ्क्रमणको जोखिमबीच अहोरात्र कार्यस्थलमा खटेर काम गरिरहेका पत्रकारको स्वास्थ्यको सुरक्षामा सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले समाचार सङ्कलनको क्रममा पत्रकारलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह समेत गर्नुभयो ।

तरुण दलका अध्यक्ष राजु थापाले कोभिडको अहिलेको महामारीमा पत्रकार, सुरक्षा निकाय र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको र उनीको सुरक्षाका लागि तरुण दलले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको बताउनुभयो । उहाँले आजै महानगरिय प्रहरी प्रभाग बालकोट र सानोथिमिलाई पनि स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष जगत प्रजापतिले सहयोगको लागि धन्यवाद दिँदै यसले पत्रकारलाई कोरोना सङ्क्रमणको जोखिमबीच कार्यस्थलमा खटेर काम गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले भविष्यमा पनि तरुण दल जस्तै अन्य सङ्घसंस्थाको पनि सहयोगको अपेक्षा गर्दै सम्पूर्ण पत्रकारलाई यो महामारीमा सुरक्षित भई काम गर्न र सकेसम्म घरबाटै कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले प्राप्त सहयोग महासङ्घको कार्यालयमार्फत जिल्लाका पत्रकारलाई वितरण गरिने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष एवं उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, महासङ्घ भक्तपुरका उपाध्यक्ष सुन्दर शिल्पकार, कांग्रेस जिल्ला सचिव निशान ढुङ्गेल, कांग्रेस भक्तपुर क्षेत्र नं १ सभापति जीवन खत्री, नेपाल तरुण दल मध्यपुर थिमि संयोजक पुरुषोत्तम खड्का, जिल्ला सदस्य राजु पुरीलगायत सहभागिता रहेको थियो ।