‘संक्रमितको निःशुल्क उपचार गर’

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कोरोना संक्रमितलाई निःशुल्क उपचार व्यबस्था गर्न माग गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै कोरोना महामारीसहित सबै खाले महामारीका बिरामीको निःशुल्क उपचार व्यबस्था गर्न संघीय र प्रदेश सरकारसँग माग गर्नुभएको हो । प्रदेशका विभिन्न स्वास्थ संस्थामा आईसीयु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थाले पनि संघीय र प्रदेश सरकारमा चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यता देखिएको कांग्रेसको भनाइ छ ।

कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्याबश्यक अस्पताल बेड, आईसीयु बेड, अक्सिजन र भेन्टिलेटरलगायत स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामग्रीको तत्काल समुचित व्यबस्था गर्न माग गरेको छ । उसले देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाएर सम्भावित संक्रमितको पीसीआर परीक्षणलाई व्यापक माग गर्दै कोरोना संक्रमण जोखिम न्यूनीकरण अभियान स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनको प्रयासबाट मात्र सम्भव हुने नभएकाले जनप्रतिनिधिसँग सहकार्यका लागि संयन्त्र तयार गर्न सुझाव दिएको छ ।

प्रदेशका विभिन्न नाकाहरुमा स्वास्थ्य जाँचका लागि हेल्थडेस्क राखी परीक्षण र शंकास्पद्लाई होल्डिङमा राख्ने व्यबस्था र प्रदेशका स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन व्यबस्था गर्न माग गर्दै स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई बिमा एवम् जोखिमभत्ता तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्ति अभाव देखिएकाले अस्पतालमा थप स्वास्थ्य जनशक्ति व्यबस्था गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ । कोरोना जोखिम न्यूनीकरणका लागि प्रदेशमा रहेको विपद् व्यबस्थापन कोष र कोरोना रोकथाम, नियन्त्रण एवम् उपचार कोषको तत्काल प्रभावकारी परिचालन गर्नुपर्ने, स्वास्थ्य सामग्री र खोप खरिदका क्रममा भएका अनियमितताबारे छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने कांग्रेसको भनाइ छ ।

खोपलगायत अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनीतिक पहल गर्नुपर्ने, लकडाउनका समयमा किसानका कृषिउपज तथा अन्य उपभोग्य वस्तुको आपूर्ति र आवतजावत सहज हुनुपर्ने, विदेश जानेहरुलाई आवश्यक पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाइनुपर्ने मागसमेत गरिएको छ ।