काभ्रेमा निषेधाज्ञा अटेर गर्नेलाई सडकमै उठबस, सक्रमितको संख्या ९ सय १ पुग्यो

56
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गर्ने सर्वसाधारणलाई प्रहरीले सडकमै उठबस गराएको छ । केहि समय होल्डिङ्ग गराई उठबस पछि छाडि दिएको छ । जिल्लामा दैनिक संक्रमितहरु १ सय ५० भन्दा धेरै हुन थालेका छन् । बुधबार १ सय ५८ र विहिबार १ सय ६५ संक्रमित थपिएका छन् । जिल्लामा सक्रिय सक्रमितको संख्या ९ सय १ पुगेको छ ।

बनेपा नगरपालिकाको चारदोबाटो चोकमा विभिन्न कारण देखाउँदै सडकमा नियमित आवतजावत गर्नेहरुलाई निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा नियन्त्रणमा लिई होल्डिङ्ग गराई उठबस पछि छाडिदिएको हो । प्रहरीले निषेधाज्ञालाई कडाईका साथ पालना गराउन तोकिएको समय भन्दा बाहेक पसल खोल्ने ब्यवसायीहरुलाई समेत कारवाही गर्ने चेतावनी दिएको छ । ब्यवसायीहरु २४ सै घण्टा पसल खोलेर बसेपछि पसल आउने र जाने क्रममा नागरिकहरु नियन्त्रणमा पर्न थालेका छन् । प्रशासनले बैक, सहकारी तथा अन्य वित्तिय संस्थाहरुको सेवा बन्द नगरेकाले वित्तिय कारोवारका लागि जाने कर्मचारी तथा सेवाग्रहिहरु दैनिक सडकमा निस्कँदा भिडभाडकै कारण संक्रमण फैलने आशंका स्थानीयहरुले गरेका छन् ।

बनेपा जिल्लाको धेरै बसोबास भएको र ब्यापारीक क्षेत्र हो । जिल्लाको केन्द्रका रुपमा रहेको बनेपा नगरपालिका दोश्रो चरणको संक्रमणको केन्द्र बनिसकेको छ । बनेपामा बुधबार साँझसम्म ३ सय भन्दा धेरै सक्रिय संक्रमितको संख्या छ । एकै दिन स्वतफुर्त रुपमा स्वाब दिएर परिक्षण गरिएका संक्रमितहरुको संख्या झण्डै एक सय नजिक पुगेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज, ट्राफिक प्रहरी कार्यालयका केहि प्रहरीहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु, ब्यवसायीहरु संक्रमित भईसकेका छन् । बनेपामा बुधबार ८५ जना र विहिबार ६४ नयाँ संक्रमित थपिएका छन् ।

बनेपा पछि सक्रिय संक्रमितको संख्या पनौतीमा धेरै छ । पनौतीमा १ सय ८८ संक्रिय संक्रमित रहेका छन् भने धुलिखेलमा १ सय ८३ रहेका छन् । पनौतीमा विहिबार मात्रै ४३ नयाँ संक्रमित थपिएका छन् । अझै स्थानीय सरकारहरुले पहिलेको जस्तो सम्पर्क ब्यक्तिका आधारमा परिक्षण गराएका छैनन । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले निषेधाज्ञाको चौथो दिन पनि संक्रमितहरुको सख्या बढिरहेको बताउनु भयो । बनेपा, पनौती, धुलिखेल र पाँचखालमा सक्रिय संक्रमितहरु बढिरहेकाले संक्रमणको दर अझै बढ्न सक्ने विश्लेषण गरिएको डा. झाले बताउनु भयो । भाईरसको दोश्रो संस्करणका कारण सात दिनमा १८ जनाले काभ्रेपलाञ्चोक जिल्लामा ज्यान गुमाईसकेका छन् । ज्यान गुमाउनेको सख्या ८२ पुगेको छ ।